काठमाडौँ–सत्तारुढ दल नेपाल क्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले नेपालको श्रृंखलावद्ध परिवर्तनले लगानीको अवसर सिर्जना गरेको र त्यसमा सहकार्य गर्न विदेशी व्यवसायीलाई आग्रह गरेका छन्।

लगानी सम्मेलनको दोस्रो दिन समापन समारोहलाई संवोधन गर्दै उनले नेपालमा भएका हालसम्मका राजनीतिक, सामाजिक परिवर्तन विकास प्रक्रियालाई अघि बढाउनका लागि भएको जानकारी गराएका छन्।

लगानीको निर्णय केहीबेरको सानो घटना होइन । यो नेपालको दीर्घकालिन राजनीतिक स्थिरता, सुरक्षा लगायत विषयमा जोडिएको छ । त्यो आधार हामीले तयार गरेका छौँ ।
लगानीकर्ता, कर्मारी, मजदुर र समग्र क्षेत्रलाई फाइदा दिने लगानी नै सफल हुने उनको ठहर थियो।

पछिल्लो १२ वर्षमा नेपालको शान्ति प्रक्रिया, निर्वाचन, संविधान निर्माण लगायत सबै प्रक्रिया ऐतिहासिक भएको र त्यसले विकासको आधार तयार पारेको बताए ।

उनले भने,’ हामीले मौलिकरुपमा शान्ति प्रक्रिया टुंग्याएका छौँ र त्यो संसारभर उदाहरण बनेको छ । त्यसमा हामी गर्व समेत गरिरहेका छौँ।’

दाहालले आर्थिक विकासलाई तिब्रगति दिने काममा हाल सरकार लागि रहेको र त्यसमा जनताले पनि सहयोग गरिरहेको बताए।

प्राकृतिक स्रोतधान र सांस्कृतिक भिन्नताले भरिएको नेपालमा लगानीको अवसर र त्यसको उपलब्धी हासिल हुने उनको भनाई छ ।

उनले भने, ‘तीन करोड जनताको नेपालमा अनेक संभावना छन्। इमान्दारिता, मिलनसार लगायत नेपालीका परिचय हुन्।’

उनले नेपालमा जलविद्युत आयोजनाको लगानी सबैका लागि खुल्ला भएको बताए।कृषि नेपालको मुख्य पेशा भएको र त्यसको आधुनिकरणका लागि सरकारले कदम चालिरहेको बताए।

उनले नेपालको पर्यटन क्षेत्रले विदेसीलाई आकर्षण गरिरहेको र त्यसमा लगानीको अवसरको ढोका खुल्ला भएको बताए।

त्यसक्रममा दाहालले सरकारका लगानीका प्राथमिक क्षेत्रबारे पनि जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here