वैकल्पिक राजनीति आफैमा अमुर्त छ, परिभाषाले पनि र प्रयोगले पनि । कसको विकल्प ? के को विकल्प ? नेपालको राजनीतिमा दुई ठूला र पुराना दल छन् । पहिले जमिन्दार पुजिपति र पठित मध्यम वर्गीय वर्गले राणा र पञ्चायतसँग जोरी खोज्यो र जनताको साथ पायो । नेपाली कांग्रेस त्यही लिगेसी र त्यही ७ साल, ४६ सालको नेताहरुको ‘जप’मात्रले भएपनि अझै केही वर्ष ‘प्रमुख’ दलको हैसियतमै रहनेछ । किनकी गैरकम्युनिष्ट मतदाता नेपालमा छन् र तीनलाई गैरकाँग्रेसी लोकतान्त्रिक शक्तिको विकल्प उपलब्ध छैन । यसकारण एउटा त देशमा काँग्रेसको ‘विकल्प’ चाहिएको छ ।

काँग्रेसको स्थापनासँगै कम्युनिष्ट पार्टीको पनि स्थापना भयो । ७० वर्षे इतिहासमा दर्जनौ टुटफुट र त्यतिनै सँघर्षहरुबाट अहिले लगभग दुईतिहाइ मतादेशसहित सरकारमा छ । नेपालको कम्युनिष्ट आन्दोलन ‘क्लाशिक’ परिभाषा अनुरुपको आन्दोलन हैन । संसदीय पद्धति र बहुलवाद स्वीकार गरेको ‘कम्युनिष्ट पार्टी’ काँग्रेस भन्दा दोब्बर परिवारवाद, दलाल पुजिवाद र विचारहिनतामा चलिरहेको छ । सत्तारुढ नेकपा(नेकपा)को एक भंगालोलाई त ‘पछिल्ला परिवर्तन’ घाँडो भैसकेको छ । मतादेशको मातमा जनादेश बिर्सेर सत्ताविलासमा मस्त डबल नेकपा त्यैसैले कहिले सिंगल नेकपा(विप्लव समुह)सँग तर्सिन्छ र प्रतिबन्ध लगाँउछ भने कहिले विवेकशीलले ‘जवाफदेहिता’ माग्दा आफ्नो चरित्र हत्या गरेको ठान्छ र धम्की दिन्छ । यसकारण जनतालाई त नेकपाको पनि विकल्प चाहिएको छ ।

अब कुरा गरौँ वैकल्पिक राजनीतिको । कसको विकल्प बन्न खोलिएका हुन नयाँ ‘वैकल्पिक’ दल । पुरानो डगम्याटिक कम्युनिष्ट भन्ने ‘ढोंग’ बाट विकल्प बन्न प्र्याग्म्याटिक लोकतान्त्रिक धार समातेका बाबुराम भट्टराईको ‘आँट’लाई आश्चर्य मानेर मात्र पुग्दैन । कतिपयका लागि दलीय जकडतालाई चुनौति र बदलिँदो परिस्तिथिमा एडप्ट हुन चाहनाले उनी उदाहरणीय पात्र बन्न पुगे । अहिले उनीसँग नयाँ शक्ति बन्न आएको माओवादी भंगालो पुरानै घर फर्किसकेको छ भने त्यसको केही अंश रवीन्द्र मिश्रसँग केन्द्रीय तहमा सह-नेतृत्वमा मग्न छ । केही पठित युवा र डा. भट्टराईको व्यक्तित्वबाट प्रभावित एक समुह उनको संगठनमा बाँकी छ । त्यसैले धर्मराएको संगठनलाई कहिले चुनावले गिजोल्दा ‘बाम गठबन्धन’ सँग त कहिले सरकारी ‘समाजवादी फोरम’सँग नयाँ शक्तिको नजर जुध्छ । नजर जुध्दैमा प्रेम बस्यो भन्ठानेर बनेको सम्बन्धको परिणाम विवेकशील-साझाको १७ महिने असफल प्रेमबाट नयाँ शक्तिले सिकेकै हुनुपर्छ ।

‘जस्ट फ्रेन्डस्’ मात्र रहेका विवेकशील-साझाले चुनावको चटारो र ‘विभिन्न दवाव’ले गर्दा हतारमा लगन गाँठो गाँसे । एक जना ‘सम्पादक’ र एक जना ‘वकिल’ को मध्यस्तामा भएको एकिकरणमा स्थापित राजनीतिमै अभ्यस्त केही व्यक्तिबाट निर्देशित साझा भंगालोले ‘गज्जब’को सँगठन बनाएर ‘अर्को पटक देशको नेतृत्व’ गर्ने नीति लियो । यसै नीति अनुरुप साझा भंगालोले असहमतीका स्वरहरुलाई ‘भित्तैमा पुर्‍याइदिने’ गरि ‘संगठन निर्माण’ मा भने जोड दियो । समान राजनीतिक हैसियतमा रहेको अर्को ‘विवेकशील भंगालो’ अभीयान मार्फत नागरिक चेतनानै परिवर्तन गर्न लाग्नुपर्छ र वैकल्पिक राजनीतिक दल एकाध ‘क्यारिस्मेटिक’ नेताको छत्रछायाँमा हुर्कने हैन मुल्य र चेतनामा आधारित भद्र ‘मान्यता’ र ‘सहभागिता’बाट निर्देशित हुनुपर्छ भन्ने अराजनीतिक ‘किचकिच’ गरिरहन्थ्यो । अन्ततः ‘किचकिच’ बाट साझाले र ‘दलदलबाट’ विवेकशीलले मुक्ति पाएको छ । विवेकशीलका कच्चा को-पाईलटले ‘क्र्यास ल्याण्डिङ’ गरिसकेका छन् । साझाले भने अझ जब्बर संगठन निर्माण गरिरकेको छ ।

यस सन्दर्भमा न्युनतम सहमति र मान्यता तय गर्दै सत्ताभोगमा मगनमस्त डबल नेकपा र आफैमा रनभुल्ल संसदको प्रतिपक्षीलाई सडकबाट ‘काउन्टर’ दिनुपर्ने तत्कालिन कार्यभार वैकल्पिक दलहरुले पुरा गर्नै पर्ने हुन्छ । यसरी देशमा व्याप्त कुशासन र कुराजनीतिलाई ‘भद्र काउन्टर’ दिन आफूलाई नयाँ, फरक र वैकल्पिक भनेर चिनाउने सबै शक्तिहरु एक ठाउँमा आउन जरुरी छ । दलीय एकिकरण भनेको हालको परिस्तिथीमा ‘टाउकाहरु’ व्यव्थापन मात्रै हो । सामान्य अवस्थामा अल्पकालिन मुद्धाहरुमा नयाँ शक्ति–विवेकशील-साझा पार्टी सँगसँगै कार्यगत सहकार्य गर्न जरुरी देखिन्छ ।

दीर्घकालिन रुपमा नागरिक को ‘चेतना’ फेर्न सडकबाट सहकार्य गर्न सकिए सत्तामा पुगेपछि नागरिकको ‘मुहार’ फेर्न पनि एकसाथ उभिने प्रेरणा मिल्नेछ । अहिले नै गठबन्धन या एकिकरणको लागि भन्दा पनि वैकल्पिक पार्टीहरु कार्यगत सहकार्य गर्दै बलियो ‘सडकको प्रतिपक्ष’ भएर सरकारलाई सचेत र जवाफदेहि बनाउने कार्यभार सम्हाल्न तयार हुनुपर्छ ।

यसका लागि पुनः सत्तारुढ ‘फोरम’ सँग नयाँशक्तिले आँखा जुधाउनुभन्दा वेकल्पिक शक्तिहरुसँग हात मिलाउन नेतृत्व लेओस् । विवेकशील नेपाली दलले पूर्वाग्रहरहित मान्यतामा आधारित राजनीतिक सहकार्यका लागि दिल खोलोस् भने विवेकशील साझाले पनि आफ्नो ‘ठूलो छाति’ लिएर सत्तालाई सचेत र प्रतिपक्षिलाई प्रभावकारी बन्न दवाव दिन सहकार्यको बाटो लेओस् । जतिनै ‘गजब’को संगठन बनाएपनि अहिलेका ठूला दल र तिनका कुकृत्यलाई ‘संगठन’ले चुनौति दिन सकिने अवस्था रहँदैन बरु प्रष्ट विचार र इमान्दारिका साथ नागरिकहरुसँग मिलेरमात्रै स्थापित प्रवृतिलाई ढाल्न सकिन्छ । बलियो वैकल्पिक शक्ति बनाउन वैकल्पिक विचारको सम्वर्धन गर्दै सहकार्य र समभावको खोजी गर्नु उपयुक्त हुन्छ ।

नोटः हस्तलिखित डट् न्युजलाई तपाईँको केही सुझाव, गुनासो या टिप्पणीछ भने हामीलाई हाम्रो इमेल hastalikhit.news@gmail.com मा लेखि पठाउनुहोस् । यस बहसमा यहाँको प्रतिक्रियात्मक टिप्पणीलाई समेत विचारको रुपमा प्रकाशन गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here