‘बाबु तेरो सद्बुद्घि पलाओस्, दीर्घायु होस्, आँटेको पुरा होस् ठूलो मान्छे बन्नु, संतानले डाढाकांढा ढाकुन’ एहि आशिक दिन्थेउ आमा तिमी संधै मलाइ , दशै जन्मदिन पुजा सबैमा तिमिले आशिर्वाद दिदा एहि भन्थेउ । तिमी पनि कति भुल्लक्कड छौ है आमा सबै कुरा भन्न भ्याउदा पनि तिमिले कहिल्यै मलाइ खुसी राख्नु है छोरा भन्न सम्झिनौ है ?

हिजो राती सपनिमा तिमिलाइ देखें मनमा अनेकन प्रश्नहरु उब्जिए । तिम्रो त्यो न्यानो काखमा लुटुपुटु भएर मुखबाट दुधका बलिन धाराहरु बगाएर तिम्रो फरिया फोहोर गर्ने तिम्रो कान्छो आज त्यही काखको न्यानो मायाको भोको छ आमा । त्यो बाल्यकाल कति प्यारो थियो है काखमा राखेर को खाइ को खाइ गरेर खाना खुवाउंथेउ तर यो उमेरमा यो खाडिजस्तो सहरमा गाडिरहेको छु म ।

मेलापातले तिमिलाइ फुर्सद कहिल्यै भएन तर पनि वात्सल्यमा कमि आउन कहिल्यै दिएनौ । तिमी कति झुठो बोल्थेउ है आमा मेलामा जादा तिमिलाइ रमाइलो हुन्छ भन्थेउ है ? खाली पेट लिएर भोक लुकाउन कति सिपालु थिएउ है ? असार महिनाको मध्य झरिमा रोपाइ गर्न जांदा हिलाले खाएको तिम्रो गोडा चर्याउंदैन भनेर कस्तो बिस्वास दिलाउंथेउ है ?

कसैले थाहा नपाउन भनेर राती सबै सुतिसकेपछी आगो फु फु गरेर तेल बेसार तताएर लागाउथेउ तिमि त्यो पीडा आफू भित्र कस्तो राम्ररी लुकाउंथेउ है तिमी ? घरमा मीठो मसिनो पाक्दा तिमिलाई भोक कहिल्यै लाग्दैन थियो है ? हामिलाइ मीठो लागेको कुरा तिमिलाइ संधै तितो लाग्थ्यो किनकी हाम्रो पेट नभरी तिमिलाइ भोक लाग्दैन थियो है ?

तिमिलाइ कहिल्यै शनिवार आएन सातै दिन मेलापातमा हराउंथेउ है ? एस्तो हुदा पनि मैले टुलुटुलु हेरेर बस्ने सिवाय केही गर्न सकिन आमा, अब तिमिले आफ्ना नङ्रा खियाउन पर्दैन आमा अब तिम्रो कान्छो ठूलो हुंदैछ आमा सके कमाउंला नसके तिम्रो मेला म जाउला आमा, अब तेल बेसार तताएर म लगाउला आमा, अब मीठो पाक्दा तिम्रो पेट पहिला भरौला आमा । छोरो ठूलो भयो भने तिम्रो काखमा खेल्ने सानो मान्छे अब दौडिन थाल्छ भनेर तिमिले मलाइ संधै सानै भएको आवश दिन्थेउ है तर अब त्यो सानो मान्छे ठूलो हुंदैछ आमा अब नङ्ग्रा खियाउन सक्छ अब तिम्रो दुख बांढ्न सक्छ । मानो रोपे मुरि फल्ने ठाउलाइ बांझै छोडेर यो बांझो शहरलाई सिंच्नु छैन आमा मलाइ ।

आज त्यो सबै गुन ममा सरेको छ आमा तिमिले झुठ बोल्न सिकाएको मैले धेरै राम्ररी सिकेको छु ।म यहाँ एकदमै राम्ररी बसेको छु आमा मलाइ केही दुख छैन घरको याद पनि कहिलेकाही मात्रै आउँछ । तिमिले बाल्टिन लिएर दूध दुन जांदा छेउमा गिलास लिएर बसेको कुरा पनि मैले बिर्सिसके आमा, मलाइ अब बहिनिको चाहाना पनि छैन खाना पनि मीठो लाग्छ आमा। देखेउ त आमा तिमिले सिकाएको कुरा ।

आज त मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन तर त्यस्तो कुनै प्रहर छैन आमा जुन क्षण तिमिलाइ तिम्रो छोराले नसम्झिएको होस । आज तिम्रा संन्तानले जे–जति प्रगति गरेका छन्, जे– जस्ता नाम राख्न सफल भएको छन्, ती सबैको श्रेय तीमिलाइ नै जान्छ, तिमिले कठिनभन्दा कठिन पीडा सहेर आफ्ना सन्तानलाई यस लाएक बनायौ, आफ्नो छातिको अमृत पान गराएर हुर्कायौ, तोते बोलीसंगै ज्ञानका कुराहरु सिकायौ। तिमिले मेलापात जाँदा पनि संगै बोकेर लैजानथ्यौ र जस्तै कष्टमा पनि सकुसलै हुर्कायौ पढायौ र आज यत्रो लाठे बनायौ ।

आमा तिमि हाम्रैलागि आफू रित्तिदै गयौ र हामिलाई भर्दै गयौ। आफू चिसोमा सुतेरपनि हामिलाई न्यानोमा राख्ने तीनै आमा तिमि, सबै आफ्ना दुखलाई आफैभित्र दबाएर पनि हामिलाई खुसी नेै देखाउने आमा तिमि, हाम्रालागि कति दुख र पिडा सह्यौ त्यसको बयान गर्नका लागि कुनै शब्द नै छैन, साएद नियतिलाइ पनि थाहा छ कि एस्तो भौतिक युगमा आमाको मुख संधै हेर्ने भाग्य कुनै सन्तानको छैन भनेर त्यसैले होला मातातिर्थ औंशी भनेर दिन तोकिदिएको ।


आमाको मुख हेर्ने मात्र होइन आमा चम्किलो मुख बनाएर हेर्ने रहर छ आमा । तिमिलाइ खुसी बनाउन सके सारा संसार जितेको खुसी मिल्नेछ आमा मलाइ, आमा तिमी ममताकी खानी हौ, माया के हो कसैले तिमिबाट सिकोस आमा । “आमा” यो शब्द मात्र सुन्दा पनि आदि पीडा आफै कम हुन्छ किनकी शब्दमा नै प्रेम लुकेको छ आमा । साएद यो स्वार्थी संसारको माझमा तिम्रो जस्तो पवित्र र निश्वार्थ माया अरु कसैको छैन आमा । आमा तिमि महान छौ ।

खै आजको यश विशेष दिनमा के दिउं तिमिलाइ कोसेली ……….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here