लेखकः महेश पाठक / रोहित क्षेत्री

नेपालको संविधानको प्रस्तावनामा हामीले समाजवादप्रति प्रतिबद्धता जनाएका छौँ भने संविधानको प्रारम्भमा नेपाललाई समाजवाद उन्मुख राज्यको रूपमा परिभाषित गरेका छौँ। साथै, आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तलाई आधार मानिने स्पष्ट उल्लेख गरेका छौँ। के विद्यमान ‘ठुला’ राजनीतिक दलहरूका वर्तमान मार्ग र गतिविधि नेपालको संविधान र / वा आफ्नै सिद्धान्त उन्मुख छन् त? के संविधानमा उल्लिखित दिशामा अग्रसर हुन वर्तमान राजनीतिक शक्तिहरूको आन्तरिक पार्टी सत्ताको मार्ग र गतिविधि आशालाग्दो छ त?

कुनै पनि लक्ष्य गतिविधिहरू मार्फत नै प्राप्त हुन्छ। तर त्यसो भन्दै गर्दा भारी बोक्दैमा गधा कहिल्यै वैभवशाली त भएको देखिँदैन। त्यसैले, गतिविधि हुनु मात्र पर्याप्त हुँदैन, लक्ष्यमा पुग्न निश्चित मार्ग चाहिन्छ र गतिविधिहरू सोही मार्गमा निर्दिष्ट हुनु पर्दछ। यी कुरा एक राजनीतिक दलले अङ्गीकार नगर्दा अथवा गर्न नसक्दा ‘च्याखे थाप्ने’ प्रथा स्थापित हुन पुग्दछ जसबाट लुटतन्त्र लगायत असंवैधानिक तथा गैर-सैद्धान्तिक भुमरीमा दल रुमल्लिन् पुग्दछ।

यस भुमरीबाट राज्य र दल दुबैलाई ननिकाल्ने हो भने हामी र हाम्रो भविष्य के होला?

सिद्धान्तपरक मार्गमा दललाई अग्रसर गराउने कार्य नेतृत्वको नै हो। प्रश्न यहाँ छ; यसको लागि कस्तो नेतृत्व सक्षम छ? मान्छेको प्रकृति जस्तो हुन्छ, उसको शक्ति नै त्यही हो, उसको गतिविधि सोही अनुरूपको हुन्छ। त्यसैले, हालको विषम परिस्थितिबाट निकास र नेतृत्वको लागि सिद्धान्तपरक नेतृत्वको नै आवश्यकता छ।

गगन थापा नेपाली काँग्रेसका यस्ता उदयमान नेतृत्व हुन् जसले सदन र सडकमा एक समान प्रकृतिबाट सम्बोधन गर्दछन्। उनले इतिहास र वर्तमानका तथ्यहरूलाई आफ्ना सम्बोधनमा प्रस्तुत गर्दछन्। उनले हरेक राजनीतिक घटना तथा सरकारको गतिविधिबाट तथ्य र सूचना सङ्कलन गरी जनसभामा आफ्नो धारणा प्रस्तुत गरेको पाइन्छ। र सोही प्रकृति सदनमा सरकारलाई प्रमुख प्रतिपक्षीको हैसियतमा खबरदारी गर्ने क्रममा पनि देखिन्छ। पछिल्ला सम्बोधनहरूलाई हेर्ने हो भने अध्ययनशील स्वभावका थापाले तथ्य र सूचनालाई नै मूल शक्तिको श्रोत मानेको देखिन्छ। यसले उनी बौद्धिक प्रकृतिको नेतृत्व भएको स्पष्ट देखिन्छ।

प्रदीप गिरि, सोही पार्टीका यस्ता जीवित ऐतिहासिक नेता, जसको छवि ‘दलका नेता’ भन्दा राजनीतिक चिन्तकका रूपमा मानिन्छ। उनको उपस्थिति, अभिव्यक्ति र सम्बोधनमा एक विशेष प्रकृतिको समानता पाइन्छ जुन उनी स्वयम् र उनको दलको समाजवादी विचारबाट निर्दिष्ट छ। उनको अभिव्यक्तिमा निश्चित विचार मात्र नभएर समाजको गहिरो अध्ययन र चिन्तनको स्पष्ट आभास पाइन्छ। गिरिको वैचारिक प्रकृति नियाल्दा; सम्पूर्ण सङ्गठनहरूको सैधान्तिक मार्गबाट विचलनलाई नेपाली काँग्रेसको वर्तमान स्थितिको मुख्य कारण इङ्गित गर्ने देखिन्छ। यस मानेमा विचारलाई सत्ताको मूल आधार मान्ने गिरि वैचारिक प्रकृतिको नेतृत्व भएको स्पष्ट देखिन्छ।

शेर बहादुर देउवा, नेपाली काँग्रेसका प्रमुख नेता, जसलाई काँग्रेसी सङ्गठनले आफ्नो १३औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित गरेको छ। उक्त महाधिवेशनमा ३ उम्मेदवार बिचको प्रतिस्पर्धामा उनले ६०%को भारी मत प्राप्त गरेका थिए। यसले उनको प्रभाव सङ्गठन भित्र निक्कै सशक्त रहेको स्पष्ट गर्दछ। यसो हुँदा हुँदै पनि उनका गतिविधि तथा अभिव्यक्तिहरूमा वैचारिक र बौद्धिक प्रकृति अत्यन्तै कमजोर देखिँदा उनको लागि शक्तिको मूल केन्द्र उनको साङ्गठनिक प्रकृति नै रहेको देखिन्छ। अतः: उनको सभापति कार्यकालमा उनले समस्त नेपाली काँग्रेसलाई वैचारिक मार्गमा डोर्‍याउने कुनै दरिलो आधार देखिँदैन। 

नेपाली काँग्रेसमा जस्तै तत्कालीन नेकपा एमाले तथा माओवादीमा पनि यी ३ प्रकृतिका नेतृत्व देख्न सकिन्छ। तत्कालीन एमालेमा केपी शर्मा ओली र माधव कुमार नेपाल सशक्त साङ्गठनिक नेता हुन् भने घनश्याम भुसाल बौद्धिक नेतृत्व हुन्। मदन भण्डारी पछि उक्त दलमा वैचारिक नेतृत्व सशक्त रूपमा उदाएको देखिँदैन। उता तत्कालीन माओवादीमा ०५२ साल ताकाका प्रचण्ड वैचारिक तहको नेतृत्व रहेको, जनार्दन शर्मा बौद्धिक प्रकृतिको र वर्तमान पुष्पकमल दाहाल साङ्गठनिक प्रकृतिको नेता रहेको देखिन्छ। 

तत्कालीन एमाले र माओवादीको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी अहिले २/३ बहुमत सहितको सरकारको नेतृत्व गरिरहेको छ भने नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको छ। वर्तमान अवस्थामा इतिहास कै सशक्त सरकारमा आसीन हुँदाहुँदै पनि वैचारिक रूपमा साम्यवादी पार्टीको रूपमा रहेको नेकपाको सरकारले समाजवादी कार्यक्रम दिन सकिरहेको छैन। उता लोकतान्त्रिक समाजवादी दल नेपाली काँग्रेसले पनि सशक्त प्रतिपक्षीको भूमिका निभाउन नसकेकोले सर्वत्र आलोचित हुँदै आएको छ। के कारण यी दलहरू असफल छन् त? यस प्रश्नको उत्तर दलको प्रमुख नेतृत्वको प्रकृतिमा नै देखिन्छ।

हाल सबै प्रमुख दलहरूको पहिलो पङ्तीको नेतृत्वमा साङ्गठनिक प्रकृति हाबी रहेको छ भने बौद्धिक र वैचारिक प्रकृति प्राथमिकतामा नरहेको आभास हुन्छ। यस स्थितिले यी दलहरूको सङ्गठन त ‘ठुला’ रहिरहेका छन् तर साङ्गठनिक नेतृत्वले दल हाँकी रहँदा दलहरू आफ्नो विचारबाट विचलित भई दिशाहीन बन्न पुगेका छन्। आफ्नै विचारबाट विचलित यी दलहरूले राज्यलाई संविधान अनुसारको समाजवादी बाटोमा डोर्‍याउन नसक्ने निश्चित छ।

नेपालको संविधान अनुरूप समाजवाद उन्मुख राज्य तर्फ अघि बढ्ने हो भने विचारलाई साध्य र सङ्गठनलाई साधन बनाई अघि बढ्ने दल प्रमुख राजनीतिक शक्ति बन्नु पर्ने हुन्छ। र यसको लागि उक्त सङ्गठनमा वैचारिक नेतृत्वको प्रमुख नेतृत्व सहित बौद्धिक र साङ्गठनिक नेतृत्व पङ्तीहरूको आवश्यकता सामन्जस्यता अपरिहार्य छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here