महिलाले महिलाको लागी बोल्दैमा नारिवादी भईन्छ ? नारिवाद के ? नारिवादी को ?
केही दिन यतादेखी यस्तै सवालहरुले मेरो मनमा डेरा जमाईरहेका थिए । एक किसिमले भनौँ भने मनमा उदिग्नता छाईरहेको थियो । त्यसो त सवालहरु अनगिन्ती थिए तर जवाफ भने एक पनि थिएनन् मसङ्ग । अझ भनौँ म जवाफको खोजिमा, तिनै सवालहरुको जालोमा बेरिईरहेको भान भैरहेको थियो ।


म जस्तै मध्यम वर्गिय परिवारमा जन्मिएर हुर्किएका यसै समाजको छोरी मान्छेहरु अर्थात महिलाहरुले जवाफ खोज्छन यस्तै तर उनीहरुको सवाललाई कसले सवाल मानिदिने ?

हुन त हामी देखेको भोगेको यो समाजमा महिलालाई जहिले पनि तल्लो स्तरमा राखेर हेर्ने गरिन्छ । विगत केहि समय अघिदेखि महिला हिंसाका अनेक घटना सुनेर मन यसै बिह्वल हुन्छ । आफ्नै बाबु बाट छोरी माथी करणी गरिएको घटना सुनिन्छन ।

ति आमामाथी के बितेको होला जसले आफ्नो छोरिलाई न्याय दिलाउँनु छ अनि पापी श्रीमान रुपि राक्षस लाई सजाय दिलाउँनु छ । अनि यति मात्र कहाँ होर ?यसका बीच यो समाज छ । त्यो समाजको डरको पर्खाल छ ।

घर परिवार, माईतिको इज्जतको पर्खाल छ । जुन पर्खाल ले महिलालाई सधै भनिरहेको हुन्छ, तँ पिडा सहेर बस् तर मुख नखोल । महिलाले कसरी पार गर्लिन त्यो पर्खाल ? अनि यि सबै घटनाको दोष कसको ? पात्र की प्रवृर्ति ? समाज की व्यक्ति ? दोषी को ?

ती महिला (आमा) जसले आफ्नो पतिको गिद्दे नजर कुनै दिन आफ्नै छोरी माथी पर्छ भन्ने थाहा पाईनन ती दोषी ? अथवा दोषी ती छोरी ? जो आफ्नै पिताको गिद्दे नजरबाट बच्न सकिनन । अनि ति राक्षस रुपि बलात्कारी ? उ दोषी हैन? समाजले कसलाई दोषि देख्छ । जवाफ छः ‘दोष त महिलाकै देखाइन्छ ।’

यतिमात्र हैन सानातिना घरेलु हिंसा कति सुनिन्छन् कति । जुन महिलाले आफ्नो घर परिवार र समाजको डर र इज्जत को खातिर सहेर बसेका हुन्छन् तीनि जुर्मुराएर आफ्नो अस्तित्व र आत्मसम्मान खोज्ने कहिले ? अब प्रश्न फेरी हामी आफैलाई ।

अनी सुनिन्छन नारिवादका कुरा । नारिवादी महानारिहरु जो नारिवादका बडा बडा भाषण गरि सडक तताउँनु हुन्छ उहाँहरुलाई गाउँमा महिलाले भोगेका पिडाका बारेमा बुझ्ने बोल्ने र लेख्ने फुर्सद नै छैन । यति सम्म कि गाउँमा महिलाहरु खुलेर आफ्ना समस्याहरु राख्न समेत हिचकिचाउँछन ।अब भन्नुस खै गाउँमा तपाईँको नारिवाद ? समाचार नबनिने ठाँउमा गएर पनि महिलाका समस्या बोलिदिने नारीवाद यो देशमा पाईँदैन रहेछ । नारीको नाममा शहरमा क्यामेरा अघि उफ्रने नारीवादीको दृष्टिदोष पितृसत्तात्मक दृष्टिदोष भन्दा अझ बढी चिन्ताजनक छ ।

म सोचिरहेछु यी समस्या बिचको समाधानको बिन्दु के हो ? हाम्रो सोचाईमा परिवर्तन ? हाम्रो सोचाइ विकसित कहिले हुनेँ ? हाम्रा समाजिक संरचना कहिले समानूभति मुलक हुने ? हाम्रा राज्यसंयन्त्र कहिले महिलामैत्री हुने ? हाम्रो देश कहिले महिलाका लागि सुरक्षित हुने ? महिलाले आफ्नो भागको धर्तिमा आत्मनिर्णयले कहिले बाच्न पाउने ?

सत्या त्रसभुवन विश्वविद्यालयमा स्नातक गरिरहेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here