ए उड्न लागेका मित्र ,
मेरा प्रिय परदेशिन लागेका मित्र
मलाई फर्केर नहेरे पनी
आँशु नबगाइ जानु,
उड्दा धर्ती हेर्दै उड्नु।

मान्छौ भने मित्र
भारी बोक्न परदेश नजानु।

खाडीको बालुवा चाल्दा
माटो फेरि भेटिएला नभेटिएला
के थाहा गएको मानिस
बगेको नदी
फर्केला नफर्केला
आकाश मुनि बादल पुग्न लाग्दा
झ्यालबाट धर्ती तर्फ चियाएर भएनी हेर्नु।
के थाहा बाकस मा फर्किदा
न धर्ती देखिन्छ
न मित्र।
कसलाई के थाहा ?
को को फर्किनेछ बाकस भित्र।
(साथी नबिर्सी पठाउनु )२
आमालाई आवाज र प्रियालाई शरीरको चित्र

मान्छौ भने मित्र
भारी बोक्न परदेश नजानु।

ए उड्न लागेका मित्र
मेरा प्रिय परदेशिन लागेका मित्र
मलाई फर्केर नहेरे पनी
आँशु नबगाई जानु,
उड्दा धर्ती हेर्दै उड्नु।
कसलाई के थाहा?
भोलि आँखा नहुने हो कि दिन नरहने हो?

सजिलो छैन परदेशमा सुन कमाउन
सक्लाउ नसक्लाऊ नुन समाउन
खोले पीठो यतै बारी खोस्री खानु
भारी नै बोक्न परदेश किन जानु?

मान्छौ भने मित्र
भारी बोक्न परदेश नजानु।

प्रिय मित्र , म गाउँ मै हुन्छु
तिम्रा छोरा छोरी पढाउँछु
बुढी अामालाई गाउँ मै छाडेर
बिन्ती मित्र, श्रीमतीलाई शहर नपठाउनु
म छु नि गाउँ मा छोराछोरी यही पढाउनु।

तिमी परदेश गएपछि खेतपाखा बाजो पल्टिनेछन्
घर मा रावणले आँखा तर्लान
जंगली स्याल र गिद्धहरुको छायाँ पर्न सक्छन्
नरोपि उम्रिएको पिपलले पनि सह दिँदैन भन्छन्
प्रिय मित्र, सिता जस्ती तिम्रै सती भन्छिन्
तिमी नहुँदा तिम्रो घरले मात्र सह दिँदैन भन्छिन्

मान्छौ भने मित्र
भारी बोक्न परदेश नजानु
खाडीको बालुवा चाल्दा
माटो फेरि भेटिएला नभेटिएला
के थाहा गएको मानिस
बगेको नदी फर्केला नफर्केला
आकाश पुगेसी झ्यालबाट धर्ती चियाएर भएनी हेर्नु।

मान्छौ भने मित्र
भारी बोक्न परदेश नजानु।

बाकस मा फर्किदा
धर्ती देख्नेछौ न यो मित्र।
कसलाई के थाहा
को को फर्किनेछ बाकस भित्र।
साथी नबिर्सी पठाउनु
आमालाई आवाज र प्रियालाई शरीरको चित्र

ए उड्न लागेका मित्र ,
मेरा प्रिय परदेशिन लागेका मित्र
फर्केर मलाई नहेरे पनी,
उड्दा झ्याल बाट भए पनि
जन्मिएको धर्ती हेर्दै उड्नु।
माटो को बास्ना र आमाको काख कहिले नबिर्सनु।

कवि : एकराज थापा
बराहक्षेत्र ३ कुपिखाेला ( हाल धरान १३, उदय मार्ग)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here