काठमाण्डौँः विवेकशील नेपाली दलले डेंगु नियन्त्रणका लागि सार्वजनिक अपिल गरेको छ ।

अहिले देशका विभिन्न भागहरूमा महामारीकै रूपमा फैलँदै गरेको डेंगी नियन्त्रणमा विवेकशील नेपाली दल सरकारलाई गम्भीरताका साथ नेतृत्व लिन जोडदार अपिल गर्दछ। 

वैशाखदेखि नै प्रकोपको रूपमा आएको यो रोग अहिले देशको ४८ जिल्लाहरूमा फैलिएको छ। चिकित्सकहरूकै अनुसार पनि अस्पताल आएका अनि नआएका गरेर ७० हजार बिरामी पुग्ने आँकलन छ। यति हुँदा पनि सरकार बेखबर झैँ देखिएको छ। कुनै ठोस कार्यक्रम ल्याएर नियन्त्रण गर्न सकेको छैन। सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारबिच राम्रो समन्वय र सहकार्य गरी प्रभावकारी रूपमा काम भएको छैन। स्वास्थ्य मन्त्रालयले कुनै ठोस कदम चालेको आम नागरिकले महसुस गरेका छैनन्। प्रदेश सरकार अनि स्थानीय सरकार मौन प्राय छन्। 

विवेकशील नेपाली दल आम नागरिक बिच पनि डेंगी नियन्त्रणका उपाय अपनाउन अपिल गर्दछ।

बच्ने उपायहरू-

१) पानी राख्ने भाँडा छोप्ने, घर वरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने उपाय अपनाउने 

२) पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने

३) लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाएर बस्ने 

४) दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने 

५) घरका झ्याल ढोकामा जाली लगाउने, आदि।

रोगका लक्षणहरू-

१) एक्कासि उच्च ज्वरो आउने, यो ५ देखि ७ दिनसम्म रहन सक्छ

२) असाध्यै टाउको दुख्ने

३) आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

४) ढाड, जोर्नी तथा मांसपेशी दुख्ने

५) शरीरमा बिमिरा आउने

६) वाकवाकी लाग्ने वा लागेको जस्तो हुने

७) पेट दुख्ने

८) नाक वा गिजाबाट रगत बग्ने, आदी

चिकित्सकहरूकै सल्लाह अनुसार, यदि ज्वरो आए वा जिउ दुखेमा ‘पेन किलर’ खाँदा खतरा हुने हुँदा ज्वरोको लागि सिटामोल मात्र खान समेत अनुरोध गर्दछ। यदि माथिका लक्षणहरू देखिए नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गराउन हुन विवेकशील नेपाली दल अनुरोध गर्दछ। साथै, अहिलेको यो अवस्थामा निःशुल्क अनि सहज उपचारको बन्दोबस्त मिलाउन समेत सरकारलाई अपिल गर्दछ।

नेपाल विश्व पर्यावरणीय परिवर्तनको एक केन्द्र विन्दु भएको हुनाले यहाँ हुने जलवायु परिवर्तनले यस्ता नयाँ समस्याहरू  उत्पन्न गरी थप जटिलता प्रदान गर्ने बारेमा सरकार सचेत हुनु जरुरी देख्छौँ। अहिले देखिएका डेंगी लगायत सरुवा रोगका समस्याहरूका एक कारक “क्लाईमेट चेन्ज” पनि त हुन सक्छ भन्ने सवाल जोडदार रूपमा उठिरहेको पनि छ। तुरुन्तै दूरगामी रूपमा यस सम्बन्धी पनि दक्ष अनुसन्धान टोली बनाउनु पनि जरुरी देखेका छौँ ताकि २१ औँ शताब्दीका जटिल समस्याहरू सुरु हुन अघि नै रोकथाम गर्न सकियोस्। यसमा पनि सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छौँ।

नागरिकको स्वास्थ्य नै सरकारको प्राथमिकतामा पर्दैन भने सबै तहका सरकारको नेतृत्वको प्राथमिकतामा अरू के विषयमा पर्छ ? विवेकशील नेपाली दल यो प्रश्न स्थानीय सरकार, प्रदेश सरकार अनि सङ्घीय सरकारलाई नागरिकहरूको तर्फबाट सोध्न चाहन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here