उज्वल थापाको प्रस्तावः ‘गुरु राष्ट्र नेपाल’ बनाऔँ

Guru Rastra Nepal
Read Time12Seconds

“दुईटा गगनचुम्बी पाँच तारे होटेलका बीचमा एउटा फुच्चे घर टिक्छ र ?” एकाभोजमा एउटा महानुभावले नेपाललाई ईंकित गर्दै सोधे। एकछिन सोच्न बाध्य भएँ। अनि सुस्तरी भने, “अवस्य टिक्छ, यदि त्यो घर तिनी दुवैका गुरुको हो भने…”। अनि थपेँ, “तर यदि गोरुहरु मात्र चर्ने ठाँउ जस्तो बन्यो भने चाहिँ त्यो घर टिक्दैन है? चुरो कुरो हामी छिमेकको गुरु बन्ने कि गोरु?”। घर फर्केपछि आफ्नो टिप्पणीबारे अलि गहन सोचेपछि म निश्कर्षमा पुगेँ कि देश होस् वा घर, त्यो टिक्ने वा नटिक्ने भन्ने कुरा उसका छिमेकले उस प्रति हेर्ने बुझाई र गर्ने व्यवहारले निकै फरक पार्ने हुन्छ। र सो बुझाई र व्यवहार भने त्यहि “फुच्चे” घरले देखाउने चालचलनमै भरपर्छ। यदि छिमेकलाई त्यहि फुच्चे घरले आफैलाई राम्रो सँग सम्हाल्न नसकेको मगन्ते र विवेकहिन झोपडी जस्तो आभास दियो भने त्यो चाडैँ नै विलिन भई जान्छ। Guru Rastra Nepal By Ujwal Thapa

तर यदि त्यहि घर झोपडी नभई एक कुटी वा आश्राम जस्तो बन्छ जहाँ सुन्दर, शुशील सुसंस्कृत गुरु-आचारण र वातावरणले भरिभराउ हुन्छ भने त्यो युगौँ सम्म पनि अडिग रहन्छ। र त्यस कुटीलाई तीनै पाँचतारेका शक्तिशाली र संमृद्ध छिमेकका बासिन्दाहरुले  नै आदर मात्र होइन श्रद्धाले शीर नै निहुँराउछन् पनि। अझ त्यतिमात्र नभई यस कुटीलाई नै रक्षा र सत्कार गर्न मरिमेट्छन्। त्यसैले अहिले हामी नेपालीको लागि एक अहम प्रश्न शायद यो पनि हो कि – हामी छिमेकका गुरु बन्ने कि गोरु?

NorthSouth doctrine, Nepal foreign  policy, neighbors policy
Guru Rastra Nepal

हामी कतिपय नेपाली अनभिज्ञ छौँ कि कुनै बेला हाम्रो भूमि एउटा अपार ज्ञानका भण्डार थियो भनेर। ईतिहासमा बिभिन्न ख्याति कमाएका गुरु (बा-आमा) हरुले सिकाएका विवेकशील संस्कार नै यस भूमिको सुरक्षा-कवच बनेको थियो। यहिँ कुटी बनाएर बसेका महाभारत, वेद र पुराणका रचना गरेका ब्यास ऋृषि देखि रामायण लेखेका बाल्मिकी ऋृषिमुनीका देनहरुले अहिले एक अरब भन्दा बढि हिन्दु धर्ममा आस्था राख्नेहरुलाई दिनहुँ प्रेरणा दिईरहेका छन्।

यहि नेपालबाट ज्ञान बाँडदै हिँडेका शिदार्थ गौतम बुद्ध देखि गुरु रिन्पोचे पद्मसम्भव अहिले आधा अरब भन्दा बढि बौद्ध धर्मावलम्बीका लागि जीवनको मार्गदर्शण नै भएको छ। यहि भुमिमा मिथिलाका राजा जनकले सुसंस्कृत राज्य सञ्चालन र राज आचरणको नमुना बनाएका कयौँ गाथाहरु छन्। त्यहि मिथिलाकी छोरी सीताकी उदाहरणीय आचरण सदियौँ देखि अहिलेसम्म करौडौँलाई प्रेरणा दिएकी छिन्। यहिँ महागुरु फाल्गुनन्दले किराँत संस्कृतिलाई मात्र होईन मानवजातीका लागि नै करुणादायी उपदेशहरु छोडी गएका छन्। शिखहरुका धर्मगुरु ननाक पनि नेपालमा आई शिक्षादिक्षा दिएका कथाहरु पनि छन्।

ब्रिटिस साम्राज्य ढोकामा ढक्ढकाईरहेको बेला गुरु गोरखनाथका मार्गदर्शनमा रहेको गोरखा राज्यका पृथ्वी नारायण शाहले आधुनिक नेपालको स्वरुप दिन सके। यसरी तराई देखि हिमालसम्म आध्यत्मका धनी गुरुआमा र गरुबाहरुले सत्य, अहिंसा, मानवता र सभ्यताका ज्ञानहरु बाँडेका थिए। त्यसैले हामीले पौराणिक नेपाललाई एक गुरु भूमि वा क्षेत्र भनि रहदाँ अन्याय नहोला।

यसैगरि हामीले अर्को महत्वपूर्ण तथ्य पनि भुल्यौँ कि हामी कुनै बेला विश्वका २ केन्द्रविन्दुहरु बीच पर्थ्यौ भनेर।  विश्वको बिगतको २ हजार बर्षको अर्थतन्त्र नियालौँ भने अर्थशास्त्रीहरुका अनुसार २००० बर्ष अघि देखि करिव ३ सय बर्ष अघि सम्मको अवधि हेर्दा भारत र चीनले संसारकै आधा भन्दा बढि अर्थतन्त्र ओगटेका रहेछन्‌। यानीकि बुद्धका पाला पछि देखि १८ औँ शताव्दी सम्म विश्वकै प्रबल क्षेत्र भारत र चीन नै रहेछ र अहिलेको नेपालको भूगोल तीनै सभ्यताका बीचैमा थियो।  तर यहि सभ्यताको शक्तिशाली भूमि अहिले विश्वकै गरीवी, अज्ञानी, भ्रष्ट, विवेकहिन र दिशाहिन बन्न पुग्यो। हाम्रा बिगतका सुसंस्कारका डिएनएहरु अहिले कता हरायो होला ? हजारौँ बर्ष देखि चिनिएका सनातन ज्ञानभूमि, गुरुभूमि अब फेरि बनाउन सकिन्छ त ? अवस्य सकिन्छ किनकि यसको बिकल्प नै हामी सँग छैन। अहिलेको नेपाललाई फेरि एउटा गुरुभूमि वा ज्ञानभूमिमा रुपान्तरित गरिएन भने नेपालको अस्तित्व नै संकटमा पर्ने देखिन्छ।

यथार्थ यस्तो छ, अबको एक दर्जन बर्षमा चीन विश्वको सबैभन्दा शक्तिशाली र ठुला अर्थतन्त्र बन्दैछ अनि भारत दोस्रो वा तेस्रो हुनेछ (अमेरिका सँगसँगै)। यीनै बिचमा रहेको नेपाल एक ‘गोरु राष्ट्र’ सरह अझैपनि अरुहरुकै कृपा-दानमा डोहरिई रहनुपर्ने, अरुकै खेलमा नाची रहनुपर्ने हो भने धेरै दिन स्वतन्त्र वा सार्वभौम रहन नसक्ने देखिन्छ। यस्तो “गोरु राष्ट्र”को बिकल्प भनेकै छिमेकले ‘गुरु’ जस्तो आदार गर्न सक्ने र श्रद्धाले हेर्न सक्ने ‘गुरुराष्ट्र’ बन्न सके मात्र शायद हाम्रो सार्वभौमता र स्वाभिमान जोगिन सक्थ्यो कि? अर्थात हाम्रो राष्ट्रलाई छिमेकले हेर्ने नजर नै “गुरु” को जस्तो हुनु पर्यो।  

प्रश्न उठ्छ – गुरु कसरी बनिन्छ? उनको व्यवहार, पृष्टभूमि र उनले बनाएको वातावरणले। त्यस्तै, गुरु राष्ट्र प्रतिको श्रद्धा पनि त्यहाँका प्रेरणादायी, बासिन्दा, तिनले बोकेका सुसंस्कृत व्यवहार र ईतिहाँसबाट आउँछ। गुरु राष्ट्रमा राम्रो मात्रामा नागरिकहरुमा सही र गलत छुट्याउन सक्ने खुबी हुन्छ जसलाई विवेकशील नागरिक भन्न सकिएला। र यी हरेकमा चाहिने नैतिक रुपान्तरणलाई “गुरु संस्कार” भन्न सकिएला जसका केहि आधारभूत मुल्यमान्यताबारे पनि छोटकरीमा यहाँ चर्चा गर्न चाहेँ।

१ ) निष्ठा: बोली र व्यवहारमा तादम्यता जब आउँछ तब मात्र उसलाई निष्ठावान भन्न मिल्छ र उ भरोसा गर्नलायक हुन्छ। गुरुहरुका निष्ठावान सादगी जीवनशैलीले सदैव समाज, देश र संसारलाई नै सामुहिक हितको मार्ग तर्फ धकेल्छ।

२) बिनम्रता: “मै मात्र सक्छु, मैले मात्र जानेको छु” यस्तो अहमताको भावनाले ग्रस्त नेतृत्वशैलीलाई तह लगाउन यहाँ विनम्र गुरुहरु अपरिहार्य छ। बिनम्रताले “को ठीक भन्दा पनि के ठीक” भन्नेतर्फ समाजलाई निर्देशीत गर्दछ जसबाट देशवासीहरुमा जीत-जीतको सम्बन्ध बनाउन सघाउ पुग्छ।
३) समानुभूति: विविधताले भरिएको नेपालमा एक-अर्का प्रति समानुभूति बोक्न सक्ने गुरु नागरिकहरुले नै यहाँका सयौँ भाषाभाषी र संस्कृतिलाई एकजुट राखी राख्नसक्छ। फरक सोच, विचार र व्यथालाई “समान” अनुभूति गर्न सक्ने सहभागितामुलक र सहिष्णु मानवताको संस्कार नागरिकहरुमा बिकास गरेमात्र हामी गुरु राष्ट्रमा परिणत हुन सक्छौँ।

४) साहस: नेपाली समाजमा व्याप्त अन्याय र अत्याचारलाई औँलो ढड्याउने नैतिक साहस ‘गुरु’नागरिकहरु भित्र हुनुपर्छ। बुद्धिको साहसिक उपयोग पछि मात्र कोहि विवेकशील गुरु बन्नसक्छ।


५) उत्कृष्टता: विविधताकै उत्कृष्टतालाई कदर गर्न सक्ने व्यक्ति र समाजले नै श्रृजनशील, नवीन प्रयोग द्वारा देशको स्वतन्त्रता, समाजको समवृद्धि (समतामुलक वृद्ध र संमृद्धि) र नागरिकको स्वाभिमान जोगाउन सक्छ। उत्कृष्ट नेतृत्व सदैव नागरिक हितप्रति जवाफदेहि रहन्छन्।


६) पारदर्शीता: बिचार र प्रणाली दुवैमा अपार पारदर्शीता राख्ने र खोज्ने नागरिकहरुको बिकास गर्न सके मात्र अहिले व्याप्त लूटतन्त्र र भ्रष्टाचारलाई जरै देखि उखेल्न सकिन्छ। यस्ता गुरु नागरिकहरु आफ्ना कामकार्य, प्रणाली, आर्थिक गतिविधि र निर्णयहरुमा निरन्तर पारदर्शी रहन्छन् र अरुबाट पनि सोहि अपेक्षा राख्छन्।

गुरु राष्ट्रमा व्यक्तिका हरेक कोणबाट समवृद्धि हुदैँ जाने वातावरण बनाउन समाजले आत्मनिर्भरता भन्दा पनि अन्तरनिर्भरता (ईन्टर-डिपेन्डेन्स) को वातावरण बनाउन पहल गर्छ। नागरिकहरुका नवीनता र श्रृजनशीलतालाई अगाँल्न समाजले एक गतिशील “उद्यमशील” चरित्रलाई अँगाल्नु जरुरी छ। समवृद्धि भईरहेको अवस्थामा गुरु आचरणहरु फस्टाउँछन्, फैलन्छन्। गुरु राष्ट्रमा सरकारको चरित्र एक शासक जस्तो होईन “सेवक” जस्तो हुन्छ जसले एकातिर नागरिकका स्वतन्त्रतालाई रक्षा गर्छ भने अर्को तिर उनीहरु सबैको समवृद्धि हुने वातावरण बनाउन पहल गर्छ। यसरी नागरिकका स्वतन्त्रता, समवृद्धि र स्वाभिमानलाई बढावा दिदैँ बनेको शसक्त राष्ट्रलाई छिमेकहरुले आदर र सत्कार दुवै गर्न बाध्य हुन्छन्।

नेपाललाई गुरु राष्ट्र बनाउन हामी नागरिक, समाज र सरकारमा आउनुपर्ने रुपान्तरणको त कुरा गर्य़ौँ। अब केहि ठोस रणनीतिका पनि कुरा गरौँ जसले गर्दा हाम्रा उत्तर-दक्षिणमा रहेका छिमेकले हामीलाई हेर्ने दृष्टिकोण नै बदलिनसकोस्। अहिलेको अवस्थामा यस “उत्तर-दक्षिण” नीति अनुरुप कम्तिमा ५ छिमेक व्यवस्थापन भू-रणनीतिहरुमा हामीले ध्यान दिनु जरुरी छ।

NorthSouth doctrine, Nepal foreign  policy, neighbors policy
Guru Rastra Nepal

पहिलो भू-रणनीति, “नेपाल विश्वको केन्द्रविन्दुमा छ” भन्ने यथार्थ देश र विदेशमा राम्ररी चिनाउने। बिगतको नेपाल भूमिको गरिमामय ईतिहासँ सम्झाउने, वर्तमानका विविध मौलिक पहिचानहरुलाई बलियो तुल्याउने र भविष्यमा हामी कसरी “गुरु राष्ट्र” बन्ने भन्ने बारे आध्यात्मिक र भौतिक गुरुयोजनाहरु पहिल्याई अघि बढाउने।

दोस्रो, छिमेकहरुबीच “सहअस्तित्वको” भावना दह्रो बनाउने। चीन-भारत-नेपालमा विध्यमान हिन्दु-वौद्ध लगायत बिभिन्न सनातन संस्कृतिहरुका निकटतालाई उजागर गर्दै एक वृहत बहु-सांस्कृतिक गठबन्धन बिकसित गर्दै जाने। हरेक भारतीय र चीनिया नागरिकलाई जीवनमा एक पल्ट नेपाल आउँनै मनलाग्ने मनोभावनाको माहोल श्रृजना गर्ने। नेपाललाई ‘गरुहरुका देश’ भनि चिनाउने।

तेस्रो “अन्तरनिर्भरता” को पहल गर्ने।  नेपाल, भारत र चीन एक आपसमा अन्तर-निर्भर हुनेगरिका आर्थिक-सांस्कृतिक सम्बन्ध बढाउँदै जाने रणनीति लिने। अन्तरनिर्भर अर्थ नीति र शिक्षा नीति र उद्यम नीतिमा विशेष जोड दिने। आर्थिक मात्र होईन हिन्दु-वौद्ध लगायतका सांस्कृतिक अन्तरनिर्भरतालाई जोड दिने ताकि संवृद्धिका साथसाथ मानवताको गाठोँ पनि बसोस् छिमेकीहरु बीच।

चौथो, “समनिकटता”को नीतिमा जोड दिने। आफ्ना दुई छिमेकी बीच एउटा बलियो कनेक्टर बन्ने। छिमेक बीच हुन सक्ने द्वन्द र यसमा विश्व नै मुछिने खतरालाई निवारण गर्न नेपाललाई एक ‘सम्बाद भुमि’को रुपमा बिकसित गर्ने। शान्ति, सम्बाद, दिगो बिकास, हरियो अर्थतन्त्रका विषयहरुका केन्द्रविन्दु बन्ने खालका शिक्षा प्रणाली र कर्मचारीतन्त्र बिकास गर्नमा केन्द्रित हुने।

पाँचौँ, “समानूभूति”का अवधारणाबाट छिमेकलाई सुरक्षा गर्ने नीति अवलम्बन गर्ने। समानुभूतिलाई केन्द्रविन्दुमा राखी हाम्रा छिमेकमा बस्ने ३ अरब जनतालाई परिआउने २१ औँ शताव्दीका जटिल मानवीय र पर्यावरणीय समस्याहरुलाई समाधान गर्ने हेतुले ‘बुद्ध भूमि’कोर रुपमा नेपालले गुरुको पहल गरि राख्ने।

सिधा कुरा यो हो कि हामी छिमेकका गुरु बन्ने कि गोरु? दुवै छिमेकले हामीलाई  सम्मान र श्रद्धाले हेर्न सके मात्र यो मुलकको स्वाभिमान जोगाउन सक्छौँ नत्र कुनैनकुनै रुपमा उनैका ‘गोरु’ बन्नु पर्ने जोखिममा छौँ। अहिले हामीले पाएका कतिपय शिक्षा, हाम्रा दैनिक आचरण र हाम्रा सामाजिक (कु)संस्कारहरुले हामीलाई गुरु भन्दा पनि गोरु बन्न तर्फ धकेलीरहेको आभाष भैरहेछ। यस आचरणमा आमुल रुपान्तरण गरि नया पुस्तालाई सही के र गलत के छुट्याउन सक्ने शिक्षा-दिक्षामा लगानी गर्नु राज्यको पहिलो प्राथमिकता हुनुपर्छ।

गुरु राष्ट्र बनाउने यस यात्रा भनेकै नवीनता, मानवता र व्यवहारिकतालाई अँगाल्ने विवेकशीळ नीति, शिक्षा र बिकासका आयामहरु हुन्। जब हामी नेपाली आफ्नो बिनम्रता र साहसले चिनिन्छौँ, हाम्रो समानुभूति र उत्कृष्टताले चम्किन्छौँ र आ-आफ्ना निष्ठावान आचरणलाई पारदर्शी रुपमा घर-परिवार, संघ-संस्था, उद्योग-व्यवसाय देखि विधालय-आश्रामका सहभागितामा संस्थागत हुन्छौँ तब अवश्य नेपाल हाम्रो अस्तित्व जोगाउने गुरु राष्ट्र बन्छ।


“उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक”
“संकल्प के लिनु, गुरु राष्ट्र बन्नु एक”

Guru Rastra Nepal

नागरिक दैनिक Guru Rastra Nepal बाट साभार

0 0
0 %
Happy
0 %
Sad
0 %
Excited
0 %
Angry
0 %
Surprise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close