काभ्रेपलाञ्चोक । उमेर राम्रोसँग बताउन नजान्ने ५० कटेकी चन्द्रमाया प्रधान भूकम्प पीडित हुन् । जस्ताको पाताले राम्रोसँग पनि नबारेको कटेरोमा थोत्रा बोरा टागेर बस्दा बस्दा चिसोले उनी र उनकी छोरीका अनुहार पुरै सुनिएका देखिनथ्यो ।

श्रीमान बितेको १३ बर्ष भयो । घरमा कमाउने कोही छैन । जेठि छोरी अपाङ्ग थिइन् । तीन महिना अघि मात्र बितिन् । श्रीमान बितेको तीन दिनपछि जन्मिएकी कान्छी छोरी ११ बर्षकी भइन् अब यीनलाई कसरी बचाउने पिरालो छ उनीसँग ।

बनेपा नगरपालिकाको बजारको तीनधारा स्थित गल्लीमा बस्ने राम्रोसँग बोलचालसमेत गर्न नजान्ने यी चन्द्रमाया प्रधानको न त राम्रोसँग खान गाँस छ, नत्र सुत्ने बास नै । कसैले सहयोग गरेको दुईचार केजी चामलबाट गुजारा गर्दै आएकी चन्द्रमायाको प्राण यो जाडोले कट्छ या यही जाँडोले प्राण पखेरै जुट्ने हो अतोपतो छैन ।

छोरी र आफूसँगै बिते त ठिकै हो, नत्र छोरीको भविष्य के होला ? उनी त्यही चिन्ताले रोइरहन्छिन् अचेल । गहभरी आशु पार्दै चन्द्रमायाले भनिन् ‘दैवले न मार्न न सक्यो, नत बाच्न नै दियो।’ हुनपनि हो पछिल्ला १३ बर्षमा उनले नपाएको दुख सायदै छैन होला । सुन्दापनि आंङ झिरिङ हुने पीडाका दिनहरु पलपल मरेर कटाएकी छिन् उनले ।

१३ बर्ष अघि श्रीमान बिते । त्यसको तीनदिन पछि जन्मिइन् कान्छि छोरी प्रमिला । श्रीमानको काजकिरिया गर्दै गर्दा सुत्केरी भइन् उनी । एकातिर श्रीमान बिते, अर्कोतिर आफु सुत्केरी र त्यसमाथि थिइन् जेठी छोरी जो जन्मजात अपाङ्ग ।

कमाइ गर्ने कोही छैन, सहयोग गर्ने कोही भएन । दुई नावालक जसोतसो हुर्किदै थिए । श्रीमानको अन्तिम नाशो बनेपाको तीनधारमा रहेको घर पनि २०७२ शालको भूकम्पले भत्काइदियो । भुकम्पपछि घरबार विहिन बन्न पुगेकी चन्द्रमायाका त्यसपछिका सबै रातहरु गर्मीमा हपहप र जाडोमा तपतप मै बितिरहेका छन् ।

खानाको लागि चामल समेत किन्न नसक्ने अवस्थामा पुगेकी यी चन्द्रमाया यत्तिखेर कसैले आफ्नो घर बनाइदेला भन्ने आशमा छिन् । सम्पतीको नाउँमा छ पुगनपुग दुई आना जग्गा । त्यो बाहेक अरु केही छैन ।

कठ्याग्रिदो चिसोमा चारपाता तस्ताले ढोका समेत नहाली बारेको कटेरोमा काम्दा काम्दै रात बित्ने गर्दछ यीनी र यिनको छोरीको अचेल । एउटा सानो छानो हाल्न सकेको भए मागेर पनि गुजारा चलाउन सक्थे साह्रै गारो भयो चन्द्रमायाले भनिन् । घर बनाउने आर्थिक अवस्था नभएकी यीनी विलौना गर्दै गर्दा कठ्याग्रिदो चिसोमा हामीसँगै पुगेका थिए राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालका संयोजक राजानन्द माण्डव्य । देखिनसक्नु दुःख र सहनै नसक्ने पीडा देखेपछि माण्डव्य भावविहोल भए ।

चिसो गाडिएर विरामी थिइन् चन्द्रमायाकी छोरी रमिला । औषधी किन्नेसम्मको पैसा रहेनछ । तत्काल उपचारको लागि भन्दै दुईहजार दिए मानडव्यले । पकेट खर्च मात्र बोकेर आएको थिए लिनुस् अहिले छोरीको उपचार गरिहाल्निुस् भन्दै माण्डव्यले रकम दिए । तपाईको घर बनाउने जिम्मा अब म लिन्छु न आतिनुहोस् , माण्डव्यले हौसल्ला दिए । दुःख माथिको दुःख र पीडा माथिको पीडा देखेसँगै माण्डव्यले भने यो घर अब हामी नै बनाइदिऔं। सहयोगका लागि सबैसँग अपील गरौं यो पीडाबाट चन्द्रमायालाई निकाल्नुपर्छ मानडव्यले भने । राष्ट्रिय पोशक र राष्ट्रियताको अभियान चलाइरहेका यी अभियान्ताले भने ‘नेपालीहरुको मन छ सबै नेपालीहरुसँग अनुरोध गरेर हामी यो घर ठड्याउँछौ, ठड्याउँछौ ।’

“हुन त म पनि भुकम्प पीडित हुँ तर म मेरो घर पछि बनाउछु अहिले यी अवोध वालिका र दिदीको लागि सबैसँग सहयोग माग्छु” मानडव्यले भने ।

यत्तिखेर चन्द्रमाया प्रधानको घर निर्माणका लागि केही अभियानकर्ताहरु जुर्मुराएका छन् । उनीहरुले घर बनाउनका लागि अब कत्तिपनि समय कुर्न नसक्ने भन्दै काम सुरु गरेका छन् ।

चन्द्रमाया प्रधानलाई सहयोग गर्न उनीहरुले अपिल गरेका छन् । सहयोग गर्न चाहानुहुने महानुभावहरुले चन्द्रमाया प्रधानको नाउँमा खोलिएको सानिमा बैंक बनेपाको खाता नम्बर ०३९००००००५८०द्य मा सहयोग गर्न सक्नुहुनेछ ।

शनिबारबाट मानडव्यले घर बनाउने जिम्मा लिएर जग पुजा गरिसक्नु भएको छ । यत्तिखेर सबैले सहयोग गरे चन्द्रमायालाई सुरक्षित छानामा ल्याउने यो अभियान अवश्य सार्थक हुने थियो ।

घर निर्माणका लागि सहयोगी हातहरु खोज्दै अभियान चलाइ रहनुभएका मानडव्यको मोबाइल नम्बर ९८५११००४१२ मा फोन गरी आवश्यक सहयोग गर्न सकिने अभियानका संयोजक मानडव्यले जानकारी दिनुभयो । सानो सानो सहयोगबाट पनि ठूलो परिणाम निक्लनेभन्दै उनले सबैलाई सकेको सहयोग गरिदिन अनुरोध गरे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here