धनगढीः धनगढीमा पुस १५ गते सार्वजनिक संवाद कार्यक्रम हुने भएको छ । कार्यक्रमको नाम  ‘सुदूरपश्चिम कन्क्लेभ २०७६ Sudurpaschim Conclave ‘ दिइएको छ । प्राचिन डोटी राज्यको इतिहासदेखि संघीय नेपालको सुदूरपश्चिम प्रदेशसम्मको यात्रा बारे बहस हुने आयोजकले जनाएको छ । कार्यक्रमको संयोजकमा बैतडीका युवा लेखक हरीशप्रसाद भट्टलाई चयन गरिएको छ ।

‘प्रदेश सरकार नागरिकहरुसँग नजिक हुनुपर्ने हो । प्रदेश सरकारसँग प्रदेशका युवाहरुको अपेक्षा के छ ? यसबारे पनि संवाद गर्ने योजना छ । ‘- कार्यक्रमका निर्देशक शुशील पाण्डेले भने । कार्यक्रमले राज्यसंयन्त्र नागरिकहरु र समुदायसँग राजनीतिक, समाजिक र साँस्कृतिक रुपमा संवादमा रहनुपर्ने सन्देश यो मञ्चले दिनेछ ।

कार्यक्रममा विविधतालाई स्वीकार गर्न व्यवहारमै समानुभूतिको सन्देश दिन खोजिएको छ । कार्यक्रमको  मूल नारा नै ‘हमार अङना, हमरी कुरडीकानी’ राखिएको छ । थारु भाषाको हमार अङ्ना भन्नाले हाम्रो आँगन र डोट्याली भाषाको हमरी कुरडीकानी भन्नाले हाम्रो कुराकानी भन्ने अर्थ हुन्छ । सुदूरपश्चिमबाट राष्ट्रिय मञ्चमा स्थापित तथा नयाँ पुस्ताबाट संघर्षरत पुस्ताबीच संवाद गर्नु र आफ्नै जरोकिलो र इतिहास तर्फ आकर्षित गराउनु कार्यक्रमको उद्देश्य रहेको बताइएको छ ।

कन्क्लेभको समानान्तरमा ‘प्रदेश स्तरीय स्पिकिङ आइडल २०७६’ पनि आयोजना भइरहेको छ । पुस पहिलो साता प्रदेशका ९ वटै जिल्लामा ‘जिल्ला अडिसन’ भइरहेको छ । अडिसनबाट छानिएका प्रत्येक जिल्लाका सहभागीले धनगढीमा अन्तिम प्रतिस्प्रधा गर्नेछन् । ‘स्पिकिङ आइडलका अन्तिम दश प्रतिस्प्रधीले कन्क्लेभका वक्ता/प्रस्तोतासामु आफ्ना विचार प्रस्तुत गर्ने मौका पाउनेछन् ।’ – स्पिकिङ आइडलको मुख्य प्रायोजक एभरेस्ट एकेडेमीका प्रधानाध्यापक एवं थारु सँस्कृतिका अभियन्ता स्माईल वंशी चौधरीले जानकारी दिनुभयो ।

अहिलेको पुस्ता अपनत्व भन्दा पराई सँस्कृति प्रति बढी आकर्षित हुनु चिन्ताजनक रहेको भन्दै यसतर्फ स्वयं नयाँ पुस्ता सजक हुनुपर्ने आयोजकको ठम्याईँ छ । ‘नयाँ पुस्तालाई स्वत्वको परीचय दिनु आवश्यक छ । कन्क्लेभमा हामीले सहभागीहरुलाई वक्ताहरुमार्फत मौलिकता, इतिहास र साँस्कृतिक, राजनीतिक चेत जगाउन प्रयाश गरिनेछ ।’ – कन्क्लेभका निर्देशक तथा गुरुभूमी फाउण्डेसनका अध्यक्ष शुशील पाण्डेको भनाई छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुती र प्यानल छलफल हुने जनाइएको छ । कार्यपत्र तथा प्रस्तुती डोट्याली, थारु, नेपाली तथा अंग्रेजी जुनसुकै भाषाको हुनसक्नेछन् । प्यानल छलफल तथा प्रस्तुतिका लागि अतिथी छनोट गरिरहेको र छिटै सार्वजनिक गरिने आयोजकको भनाई छ । छलफलको निश्कर्षलाई दस्तावेजीकरण गरी प्रदेश सरकारलाई बुझाइने छ । सुदूरपश्चिम विश्वविद्यालय तथा विभिन्न कलेज एवं विद्यालयहरुबाट करिव ४०० जना विद्यार्थी र विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी हुने आयोजकको दावी छ । सुदूरपश्चिमको इतिहास र वर्तमान अवस्था, कानून, राजनीति र अहिलेको जल्दोबल्दो सीमा समस्यालाई वक्ताहरुले समेट्नेछन् ।

छुट्योकीः डाक्टर छैनन सुदूरपश्चिममा, उपचारका लागि धामीकै भर !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here