नेपाली रसायनशास्त्री एवं त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. अच्युत अधिकारीलाई संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले पुरस्कृत गरेको छ। युनेस्कोले वर्ड एकेडेमी अफ साइन्स मार्फत् दिने ‘अट्टा–उर–रहमान पुरस्कार–२०१९’ नेपालका रसायनशास्त्री अधिकारीलाई दिने निर्णय गरेको अनलाइन खबरले लेखेको छ। हरेक वर्ष विभिन्न क्षेत्रमा खोजी गरेबापत एक जना रसायनशास्त्री वा वायोकेमिस्टलाई दिइने सो पुरस्कारको राशी ५ हजार अमेरिकी डलर छ।


अधिकारीले नेपालमै हुने प्राकृतिक उत्पादन टिमुरको प्रयोग गरेर मधुमेह र रक्तचाप लगायत रोगहरुबाट मुक्ति पाउन सकिने विषयमा खोजी गर्नु भएको थियो। युनेस्कोको पुरस्कारले प्राकृतिक उपचार विज्ञान र अरु पनि वैज्ञानिक खोजको लागि आफूलाई थप उर्जा मिलेको प्रतिक्रिया दिनुभयो। यो पुरस्कार केवल आफू र रसायन शास्त्र केन्द्रीय विभागको मात्रै नभएर सिंगो नेपालकै लागि खुशीको कुरा भएको उहाँले बताउनुभयो।


पाकिस्तानबाट विद्यावारिधि गर्नु भएका उहाँले ब्राजिलबाट महाविद्यावारिधिको उपाधि पाउनु भएको छ। झण्डै साढे २ वर्षअघि उहाँ नेपाल फर्किएर प्राकृतिक उत्पादन अनुसन्धान प्रयोगशाला स्थापना गर्नुभएको छ। सोही प्रयोगशालाबाट उहाँले नयाँनयाँ अनुसन्धान गर्दै आउनु भएको छ। उहाँका अनुसन्धानहरु स्थानीय बोटबिरुवाहरुसँग सम्बन्धित छन्।
चिकित्सासम्बन्धी उपयोगी वस्तुको खोजीले विश्वव्यापी बजारमा नेपालको महत्व बढाउन सक्ने भन्दै उहाँले यो पुरस्कारले नेपाली वैज्ञानिकहरुलाई एउटा नयाँ उर्जा दिने बताउनुभयो।


‘जब म पाकिस्तानमा थिएँ, मेरो उद्देश्य फरक थियो,’ उहाँले भन्नुभयो, ‘मधुमेह र क्यान्सरका लागि प्राकृतिक वनस्पतिहरुको खोजीमा नै म त्यहाँ केन्द्रित भएको थिएँ। जब म नेपाल फर्किएँ, मेरो ध्यान परिवर्तन भयो। हामीसँग परिष्कृत प्रयोगशालाहरू छैनन्, त्यसैले हामी गहन अनुसन्धान गर्न सक्दैनौं भन्ने लागेर नै मैले यो प्रयोगशालाको स्थापनातिर ध्यान केन्द्रित गरेको हुँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here