निर्णायकले सिठ्ठी बजाएसँगै माउते रामदयाल चौधरीले आफ्नो हात्ती रिमझिम कलीलाई एक कदम अगाडि बढाउनुभयो र काँधमा बेस्सरी खुट्टाले ठेल्दै भन्नुभयो, ‘मार गोल गर।’ रिमझिम कलीले पनि बुझेँझैँ गरी आफ्नो दाहिने खुट्टाले भुइँमा रहेको बललाई बेस्सरी हानी। बल गोलपोस्टमा चुम्न पुग्यो। अनि दर्शकमा खुसीको सीमा रहेन। चिच्याए। कराए। अनि रमाइलो गर्दै उफ्रिए।
पर्यटकीय नगरी सौराहामा हुने हात्तीका विभिन्न खेलमध्ये हात्ती फुटबल प्रतियोगिताको एक दृश्य हो, यो। प्रतियोगिताको सेमिफाइनल सम्पन्न भयो। नेपाल ट्रेकिङ एजेन्सी सङ्घ र मीना ओल्ड मुम्बईबीच खेल भएको गोरखापत्र अनलाइनले लेखेको छ। चौध मिनेटको निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न सकेन। पेनाल्टी सुटआउटका आधारमा प्रतियोगिताको निर्णय गर्नुपर्ने भयो। दुवै टिमका तीन–तीनवटा हात्तीलाई पेनाल्टी सुट हान्न दिइयो। पाँचवटा हात्तीले गोल गर्न नसकेपछि खेलाडीदेखि दर्शकसम्म निराश थिए। छैटौँ खेलाडीका रूपमा मैदानमा छिरेको सात वर्षीया रिमझिम कलीले माउते चौधरीको सङ्केतमा गोल गरी। जुन खेलको निर्णयक गोल बन्यो। गोल गरेपछि खुसी हुँदै माउते चौधरीले भन्नुभयो, ‘गोल गर्न नसक्दा सबै निराश भएका थियौँ। यो गोलले खेलमैदानमै खुसी ल्याएको छ।’

रिमझिम कली त्यही अनुभवी हात्ती हो, जुन अघिल्लो वर्षको हात्ती फुटबल प्रतियोगितामा सात गोल गर्दै ‘बेस्ट प्लेयर’ घोषित भएकी थिई। विगत बाह्र वर्षदेखि हात्तीको माउते रहनुभएका रिमझिम कलीका माउते चौधरी भन्नुहुन्छ, “खेल खेल्दा हात्तीलाई धपेडी हुनु त छँदै छ, हात्तीमाथि अडिएर बस्दै हात्तीलाई नियन्त्रणमा लिएर खेल्नु पनि जोखिम नै छ।”
हात्तीलाई बैठ (बस्), त्रिशुत (सुत) र उठ्ठा (माथि उठा), हिमर (घुमेर फर्की), छौँ (पछि हट) जस्ता भाषा प्रयोग गरेर माउतेले चलाउँछन्। यो थारू भाषा हो। यो भाषा हात्तीले सानैदेखि माउतेबाट सिक्दै आएका हुन्छन्। आफ्नो शरीरलाई जोखिममै राखेर हात्तीलाई यस्तै भाषा बोल्दै माउतेले खेल प्रस्तुत गर्छन्। हात्तीका खेलकुदमा जितको आधार पनि हात्ती र माउतेबीचको समन्वयमै भर पर्छ। ‘जति नै जोखिम र गाह्रो भए पनि आफूले देखाएको प्रदर्शनले पर्यटकलाई मनोरञ्जन दिँदा आनन्द लाग्छ,’ विगत दुई वर्षदेखि सौराहामा माउतेको काम गर्दै आउनुभएका राजकुमार चौधरीले भन्नुभयो। पर्यटक आकर्षण गर्ने उद्देश्यले आयोजित हात्ती महोत्सवका अवसरमा हात्ती फुटबल सँगै हात्तीपोलो, हात्ती पेन्टिङ, हात्तीदौड, हात्ती सुन्दरीजस्ता हात्तीसँग सम्बन्धित खेल प्रस्तुत गरिन्छ।

यही पुस १० गते आयोजित हात्ती महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भन्नुभएको थियो,
‘हात्ती र मान्छेबीच हार्दिक सम्बन्ध प्रदर्शित गर्दै पर्यटनको विकासमा भइरहेको यो राम्रो पहल देशकै लागि सराहनीय छ। हात्ती र मान्छेको सम्बन्ध इतिहासदेखिकै भएकाले हात्तीलाई उद्यमशील व्यवसायमा लगाउनु राम्रो काम हो।”
हात्ती मान्छेकै साथी हो भन्ने चिनाउन पनि यस्ता गतिविधिले सहयोग गर्ने देखिन्छ। महोत्सव आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया पनि हात्ती र निकुञ्ज नहुने हो भने सौराहाको पर्यटन नै अधुरो हुने तर्क गर्नुहुन्छ। ‘निकुञ्ज छ र पो हात्तीमाथि बसेर गँैडा देख्न पाइएको छ। त्यही हात्तीलाई कहिलेकाहीँ पर्यटक आकर्षित गराउन खेलकुदको माध्यम अपनाइएको हो। जुन प्रभावकारी बन्दै छ,’ उहाँले भन्नुभयो।

पर्यटन प्रवर्धनको आधार पर्यटन वर्ष २०२० कै मुखमा आयोजना गरिएको हात्ती महोत्सवलाई पर्यटन प्रवद्र्धनको माध्यम पनि मानिएको छ। २०५९ सालदेखि हात्ती दौड प्रतियोगिताको थालनी गरेर पर्यटकीय नगरी सौराहामा सुरु भएको हात्ती महोत्सवको यो वर्ष सोह्रौँ शृङ्खला हो। जसले हरेक वर्षजसो पर्यटकको सङ्ख्या बढाउन सहयोग गरिरहेको छ। क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे हरेक वर्ष आयोजना हुने हात्तीका खेलकुदले चितवनको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको धारणा व्यक्त गर्नुहुन्छ। ‘विशेषगरी क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको समयदेखि सौराहाका लागि ‘अफ सिजन’ हो तर केही वर्षयता यो सिजनमा पनि पर्यटक देखिन थालेका छन्,’ उहाँले भन्नुभयो, ‘विगतका तुलनामा हरेक वर्ष पर्यटकको सङ्ख्या बढ्दै जानु पनि हात्ती महोत्सवकै उपलब्धि मान्नुपर्छ।’

सौराहा देशकै तेस्रो पर्यटकीय गन्तव्य हो। चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार भएका कारण पनि वन र वन्यजन्तुमा आधारित विश्वभरिका पर्यटक यहाँ आइपुग्छन्। निकुञ्ज कार्यालयमा रहेको पर्यटक आवागमनको तथ्याङ्कले पनि पर्यटक बढेको सङ्केत गर्छ। कार्यालयको तथ्याङ्कअनुसार हात्तीको खेलकुद सुरु गरिएको २०५९÷०६० सालमा ४८ हजार ९२१ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गरेका छन्। यो गतिविधि सुरु भएको १५ वर्षपछि आर्थिक वर्ष २०७५÷०७६ मा हेर्दा निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेर एक लाख ८७ हजार १०९ पुगेको छ। यो सङ्ख्या आर्थिक वर्ष २०७४÷०७५ मा १ लाख ५२ हजार ६७१ र आव २०७३÷०७४ मा १ लाख ३९ हजार ९७८ रहेको छ। यसरी निकुञ्ज घुम्ने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक सौराहाकै बाटो भएर निकुञ्ज प्रवेश गर्छन्। सङ्घका पूर्वअध्यक्ष घिमिरे भन्नुहुन्छ, ‘यसरी पर्यटक बढ्नुमा पाँचदेखि दस प्रतिशत हात्तीका खेलकुद गतिविधिलाई पनि लिन सकिन्छ।’
पशु अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मीले भने हात्तीलाई खेलकुदमा सहभागी गराउनु पशु अधिकारको हनन भएको आरोप लगाउँदै आएका छन्। ‘एनिमल राइटस् क्लब’का सहसंस्थापक सुराजन श्रेष्ठ हात्तीलाई यातना दिएर खेलकुदमा समावेश गराइनु पशु अधिकारको हनन भएको तर्क गर्नुहुन्छ।

‘पर्यटन प्रवद्र्धन गर्ने नाममा वन्यजन्तुलाई खेलकुदमा सहभागी गराउन पाइँदैन,’ उहाँले भन्नुभयो, ‘हात्तीलाई यातना दिने, लठ्ठीले हिर्काउने, फलामको अङ्कुशले टाउकोमा घोचेर रगत नै निकाल्नेजस्ता गतिविधि रोकिनुपर्छ।’ हात्तीले नटेरे लठ्ठीले पिट्ने, अङ्कुशले घोच्ने गरिन्छ। विगत केही वर्षयताको आफूहरूको अनुगमनमा पनि हात्तीमाथिको यातना बढी नै देखिएको उहाँले जनाउनुभयो। हात्तीदौड र हात्ती फुटबलमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको जङ्गबहादुर गजको दुई वर्षअघि मृत्यु भयो। यो घटनाले पनि खेलकुदमा हात्तीको प्रयोग गर्नुहुन्न कि भन्ने चासोचाहिँ देखिएको छ। माउतेहरू भने खेलकुदमा लगाउँदैमा हात्तीलाई यातना हुन्छ भन्नु गलत भएको तर्क गर्छन्। ‘हात्तीलाई खेलकुदमा लगाउँदा धपेडी हुन सक्छ। तर, थकाइ मार्दै पोषिला खानेकुरा दिँदै प्रयोग गर्न सकिन्छ,’ २०५९ सालदेखि नै हात्ती प्रजनन केन्द्र खोरसोरका माउते लक्ष्मी चौधरी भन्नुहुन्छ, ‘खेलकुदमा लगाएकै कारण होइन, अन्य केही रोगले हात्ती मरेको हुन सक्छ।’

‘हात्ती चलाउन लठ्ठीले इसारा दिने हो, खुट्टाले धकेल्ने नै हो। हात्तीको ‘हेन्डल’ भने पनि ‘ब्रेक’ भने पनि सबै खुट्टाले उसको काँधमा धकेलेर सङ्केत गर्ने नै हो। यसलाई यातना दियो भन्न मिल्दैन,’ चौधरीले भन्नुभयो। चितवन राष्ट्रिय निकुञ्जमा ६३ वटा घरपालुवा र ७० भन्दा बढी जङ्गली हात्ती छन्। यसका अलवा निकुञ्जवरपरका क्षेत्रमा निजी क्षेत्र (होटल व्यवसायी) सँग १२० वटा हात्ती रहेको पाइन्छ। जसमध्ये पर्यटकीय नगरी सौराहाको निजी क्षेत्रसँग मात्रै ६२ वटा हात्ती छन्। हामीसँग भएका हात्तीमध्ये केहीलाई थाइल्यान्डको सफारी पार्कका हात्तीलाई जसरी तालिम दिएर हरेक दिन प्रदर्शनमा राख्न सकिने हो भने हरेक वर्ष आयोजना गरिने हात्ती महोत्सवको थप सार्थकता बढ्ने देखिन्छ।

पर्यटन विज्ञ विश्व सुवेदीका अनुसार विश्वका धेरै देशमा वन्यजन्तुमा आधारित पर्यटनको विकास भएका छन्। त्यसको एक उदाहरण हो, थाइल्यान्डको सफारी पार्क। जहाँ हात्ती, डल्फिनलगायतका जनावरको खेल प्रस्तुत गरिन्छ।
एक तथ्याङ्कअनुसार विश्वमा अहिले पर्यटनका लागि एक अर्ब मानिस हिँड्छन्। तीमध्ये पर्यापर्यटनमा आधारित पर्यटकको सङ्ख्या ७ प्रतिशत छ। यो तथ्यले पनि अहिले विश्वभरि झन्डै सात करोड पर्यटक पर्यापर्यटनका क्षेत्र अवलोकनका लागि हिँड्छन्। चितवन निकुञ्जमा भने यसरी आउने पर्यटक वर्षमा सवा दुई लाख हाराहारी छन्। यी पर्यटक चितवन, नवलपरासी र मकवानपुर गरेर १० नाकाबाट निकुञ्ज प्रवेश गर्छन्।
जसमध्ये सौराहा मुख्य नाका हो। हात्ती सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पर्यटक यहाँ आउने गर्छन्। यसरी आउने पर्यटकको औसत बसाइ २.४ दिन र खर्च १५० डलर भएको पाइन्छ। हात्तीका खेललाई सौराहामा नियमित राख्न सक्ने हो भने पर्यटकको सङ्ख्या अझै बढाउन सकिने तर्क विज्ञहरूको छ। पर्यटन विज्ञ सुवेदी भन्नुहुन्छ, ‘हात्तीका खेललाई नियमित खेलाउन सकियो भने चितवन आउने पर्यटकको बसाइ पनि बढाएर ३.५ दिन देखि ५ दिनसम्म बनाउन सकिन्छ। बसाइ बढेपछि खर्च पनि २०० डलरदेखि २५० डलरसम्म पुग्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here