छरिएका कमजोर र साना राज्यहरुलाई समुद्र पारीका सम्राज्यवादीले निल्दै गरेको दृश्यले सारा दक्षिण एशिया त्रस्त थिए । सबै सुरक्षा चाहन्थे र नेतृत्व कले गरिदिओस्, अगुवाई कसले गरिदिओस् । हो संकटले नै नेतृत्व जन्माउँछ भने जस्तै जन्मिए एक अक्षुण दूरदर्शीता र अदम्य साहस बोकेका राजनेता पृथ्वीनारायण शाह र सुरु गरे समृद्ध विशाल राज्यको एकिकरण । उनको एकिकरण योगदानको सम्मान उनलाई गर्नुपर्छ तर उनको योगदानको अर्को पाटो ‘दिव्योपदेश’ विर्सेर उनको फोटोमा गरिने माल्यार्पण मात्रले ढोंग दर्शाउँछ सम्मान हैन ।

हो ! कतिपयका नजरमा उनी सम्राज्यवादी देखिन्छन, कतिपयलाई उनले भनेजस्तो ‘दुई ढुंगा जस्तो तरुल’ नभई यो देश ‘दुइ देशबीचको पूल’ लाग्छ तर यो देशको भौगोलिक एकिकरण र राजनीतिक सार्वभौमसत्ताको स्थापना पृथ्वीनारायण शाहको योगदानबिना असम्भव थियो ।

भौगोलिक एकिकरण मार्फत सम्राज्यवादको सामना बाहेक उनको मुख्य योगदान ‘दिव्योपदेश’ मानिन्छ । राज्य सञ्चालनका नीति र उपदेश समेटिएकाले मात्र हैन नेपाली राज्यको भूराजनीतिक भौगोलिक विशिष्टताको दूरदर्शी दस्तावेज पनि थियो दिव्योपदेश । अहिले गणतन्त्र र संघात्मक व्यवस्थामा पुगीसक्दा पनि दिव्योपदेशमार्फत शाहको सम्झना गर्नु हरेक नेपाली नागरिक नेपाली शासकहरुलाई जरुरी छ ।

अबको राष्ट्रिय कार्यदिशा आर्थिक समृद्धी भनीरहँदा ‘खानी भएको ठाउँमा गाउँ छ भने पनि सारेर खानी चलाउनू, गह्रो बन्ने जग्गामा घर भए पनि अरू जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नू’  भन्ने आशयले हाम्रो अर्थतन्त्रमा औद्योगीकरण र कृषिला२ दिनुपर्ने महत्व झल्काउँछ । अहिले २५० वर्षपछि हामी उम्यमशीलताको चर्चा गरिरहँदा शाहले उतिबेलै ‘कपडा बुन्न जान्नेलाई नमुना बनाई देखाइदिनु’ भनेर उद्यमशील समाजको परिकल्पना गरेका छन् जुन आजको आवश्यकता बनेको छ ।

शाहको सुशासनका लागि अति नै अमुल्य भनाई छ, ‘राजाले ठूलो निञानिसाप हेर्नु, अन्याय मुलुकमा हुन नदिनू । निञानिसाप बिगार्ने भन्याका घुस लिने र घुस खाने हुन्, यी दुबैको त धन र जिउ हरि लिए पनि पाप छैन ।

अहिलेको भ्रष्टाचार अनियन्त्रित भएको र नैतिक सदाचारको खडेरी परिरहेको स्थितीमा उनलाई सम्झिनै पर्छ । अन्याय नै अन्याय भइरहेको वर्तमान परिदृश्यमा ‘अदालथमा कचहरिपिछे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू । अदालतको पैसा दर्बारभित्र नहुल्नू ।’ न्यायपालीकाको स्वतन्त्रताको कुरा उठाएका छन्, जुन अतिस्मरणीय छ ।

हामी नेपाली हुनुमा गर्व गरिरहँदा नेपाली हुन योगदान दिने विगतका नायकहरुमा पनि गर्व गर्नैपर्छ । उनीहरुका उपदेशलाई बुझ्नैपर्छ । भौगोलिक एकिकरणले मात्र एक राज्यको एकिकरण सम्पन्न हुँदैन । राज्यको समयसापेक्ष सुदृढीकरण, विविधताको सम्मान र राष्ट्रिय पहिचानको संरक्षण अनी सामुदायिक एकतामार्फत राष्ट्रिय एकता सुदृढ हुने कुरा दिव्योपदेशका ‘यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो। सबै मिली यसको सम्भार गर्नु’ भन्ने उक्तिहरुबाट प्रष्ट हुन्छ ।

एक शासकले मात्र हैन नागरिकहरुको सहभागिताबिना परिवर्तनका अभीयान असम्भव हुन्छन् । पृथ्वीनारायणको सम्मान र सम्झनाँगै अमुल्य दिप्योपदेशको स्मरण गर्दै हरेक नागरिक अघि बढेपो यो ‘सुन्दर, शान्त र विशाल’ नेपालको गौरव र हामी नागरिकको जीवनशैली अग्रगतिमा रहला ।

हरीश भट्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here