काठमाण्डौँः विवेकशील नेपाली दलले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई निलम्बन गरी अनुसन्धान गर्न माग गरेको छ । साथै यो प्रकरणमा प्रधानमन्त्रीले भन्ने गरेको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको परीक्षण गर्ने समय आएको पनि विवेकशीलको भनाई छ । Bibeksheel Nepali Party
प्रेस विज्ञप्ति: सञ्चार मन्त्री गोकुल बास्कोटालाई निलम्बन गरी छानबिन गर्न विवेकशील नेपाली दलको माग
सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा सत्तरी (७०) करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण भनी हाम्राकुरा डट कम, नागरिक दैनिक, रिपब्लिका लगायत मिडियाहरूमा आएको अडियो सहितका समाचारहरू प्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ।
उक्त समाचारको सत्य तथ्य पत्ता लगाउन मन्त्री बास्कोटालाई तत्काल निलम्बन गरी छानबिन गर्न हामी सरकार अनि प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौँ।
सरकारले भर्खरै आफ्नो दुई वर्षको कार्यकाल सम्पन्न गरेको छ। यो अवधिका उपलब्धि अनि कमजोरी आफ्नो ठाउँमा छँदै छन्। तर यो बिचमा सदनमा अनि बाहिर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कुरा बारम्बार भन्नुभएको छ, “म भ्रष्टाचारीको मुख पनि हेर्दिनँ”।
तर फेरी पनि, बारम्बार नेकपाका नेताहरू तथा सरकारकै मन्त्रीको नाम भ्रष्टाचारमा मुछिनु र यस अडियो टेप प्रधानमन्त्रीले डेढ महिना अगाडि नै सुनेको समाचार आउनुले प्रधानमन्त्रीको ‘भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भन्ने कुरा खोक्रो भाषणको रूपमा स्थापित हुँदै छ। नागरिकमा उदासीनता बढ्दै छ।
यी कुराहरूमा सचेत रहँदै प्रधानमन्त्रीलाई तुरुन्त सञ्चार मन्त्रीलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया अगाडी बढाई सत्य-तथ्य सार्वजनिक गरी कानुनी प्रक्रिया अगाडि बढाउन हामी अपिल गर्दछौँ। प्रधानमन्त्रीको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको परीक्षण गर्ने यो सही समय हो भन्नेमा हामी प्रस्ट छौँ ।
नेपाल आमाको जय होस्।
अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल Bibeksheel Nepali Party
२०७६/११/०८
यो पनि पढ्नुहोस्ः साउदीमा कामदारका समस्याबारे विवेकशीलका नेता सुर्य मोक्तानको नेतृत्वमा सरकारको ध्यानाकर्षण
Great content! Super high-quality! Keep it up! 🙂