नेपाल कृषिप्रधान देश हो । सधैँ सबैले भन्ने यही । समस्या हुँदा या सम्भावना देखाउँदा नेपालको चरित्र ‘कृषिप्रधान’ हो ।  सरकारकै अनाधिकारिक आँकडा भन्छन् ६०% भन्दा बढी नेपालीको जीवनपद्दति कृषिमा आधारित छ । तर कृषिलाई अर्थतन्त्र को बलियो खम्बा बनाउन सकिएको छैन । कृषक सबै भन्दा अरुचीको पेशा मात्र हैन कृषि मन्त्रालय समेत अरुचीको मन्त्रालय भैसकेको छ । देशको अर्थतन्त्र वैदेशिक रोजगारी बाट प्राप्त रेमिट्यान्स को भरमा चलेको छ । अहिले कोरोना महामारीले ६० लाख युवा विदेशमा बेरोजगार भए । यता देशको आयस्रोत गुम्यो । स्वदेशमा हुनेले संघसँस्था र राजनीतिको खुब खेति गरेका छन् । आम नागरिक पनि गाँउको खेत छोडेर शहर सरेका छन् । खेतीयोग्य जमिनहरु बाझो छन् । तर रोजगारीको लागि बर्सेनि लाखौंको संख्यामा युवाहरू बिदेशिएका छन् । दिनकै बाकसमा लासहरुफर्किरहेका छन् । राज्यले रेमिट्यान्सनै मिठो मानेपछि कृषिमा रुपान्तरण र कृषकको मनोबल वृद्धी, जमिनको वैज्ञानिकिकरण, युवाहरुमा कृषिकार्य प्रतिको आकर्षण वृद्धीतर्फ सरकारले ध्यान दिने कुरा भएन् । Chandika Timalsina

देशमा गरिखाने वातावरण नदेखेर बिदेशिएका युवाको नजरमा, गरिखाने स्रोतको रुपमा कृषि किन पर्न सकेन ? एकमात्रै कारण छ, कृषिकर्ममा न त सम्मान छ न त नाफा छ । केवल मिहेनत छ र घाटा छ । नेपालमा कृषि भन्ने बित्तिकै साना किसान, गरिब, लगानी गर्ने पैसा नभएका र अन्य पेशाका लागि अयोग्यले गर्ने पेशाको रुपमा हेरिन्छ । जसको उदाहरण हामी सङ्गै छन् । केही शिक्षा हासिल गरेकाले कृषि पेसा अङ्गाल्यो भने त्यसलाई ब्यक्तिको प्रतिष्ठासङ्ग तुलना गरिन्छ । यसले के बुझाउँछ भने कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न सकेको छैन । आवश्यकता नै पहिचान नभएपछि प्रार्थमिकता दिने कुरापनि भएन् ।

आज २१ औं सताब्दिमा आएर पनि कृषकहरू सङ्ग कृषि औजारको नाममा हँसिया, कुटो, हलो र कोदालो मात्रै छन् । आधुनिक उपकरण र प्रविधिको अभाव कृषि उत्पादनको सबैभन्दा ठूलो समस्या भएको छ । तिनको उपलब्धता रिपको कमि छ । कृषिमा आधुनिकीकरण गर्ने बिषयलाई मुल एजेन्डा बनाएर धेरै नेतृत्व अग्र पंक्तिमा पुगे तर कृषिका वास्तविक समस्या समाधान गर्न अग्रसर हुने नेतृत्व को अभाव नै छ । कृषकले मल पाउँदैनन्, दानापानी पाउादैनन्, उत्पादनमा हौसला पाउँदैनन र बजार पनि पाउँदैनन् । सबै क्षेत्रजस्तै कृषि उत्पादनको बजारमा पनि भयंकर सिण्डिकेट छ, कार्टेलिङ नै छ । काठमाण्डौँको कालीमाटीमा मात्रै हेरेपनि कसले नेपालको कृषिबजारमा एकाधिकार जमाएको छ भन्ने स्पष्ट हुन्छ । राज्यले कृषकको उत्पादनको बजार र मुनाफाको सुनिश्चितता गरेमात्रै कृषिप्रधान मुलुक होला नेपाल ।

हाम्रो पहिलो समस्या त कृषिलाई हेर्ने हाम्रो नजर/सोचाई परिवर्तन गर्न जरुरी छ । कृषि महत्त्वपूर्ण छ ,किसान भएनन् भने हामी बाँच्न सक्दैनौं भन्ने यथार्थता बुझ्न जरुरी छ । बालबालिकालाई माटो बोटबिरुवा र मानिसबिचको सम्बन्धको बारेमा बुझाउन जरुरी छ । कृषि भनेको अन्न तरकारी मात्र होइन, कृषि भनेको बोटबिरुवा हुन्, प्रकृतिको देन हो भनेर बुझ्न जरुरी छ । कृषिमा सफल मानिएका देश मध्येमा पर्ने देश इजरायलमा कुल जनसंख्याको १% करीब कृषि पेशामा आधारित छन् । तर त्यहाँको कृषि उत्पादन विश्वबजारमा प्रख्यात छ । तर नेपालको जनसंख्याको ६०% भन्दा बढी जनसंख्या कृषिमा आधारित छन् तरपनी हामी कृषिमा आत्मनिर्भर किन बन्न सकेनौं ? जवाफ हो, किसानले मुनाफा पाउँदैन । बिचौलियाले फाइदा खान्छ । कृषक निरुत्साहित हुन्छ ।

कृषिमा नयाँ प्रविधियुक्त उपकरणको अभाव छ । उन्नत बीउ बिजन र लगानी गर्ने पैसाको अभाव छ । हाम्रो कृषि निर्वाहमुखी बाट व्यावसायिक कहिल्यै बन्न सकेन किनकी कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न सकेन । उसो त निर्वाहमुखी कृषिकै पनि यथोचित पूर्वाधार र आकर्षणको कमि छ । कृषि बजार बिचौलियाको हातमा छ । उत्पादन गर्ने किसान र उपभोक्ताबिच ठूलो संख्यामा मध्यस्थकर्ता छन् जसले गर्दा किसानका उत्पादन ले उचित बजारभाउ नपाउँने र उपभोक्ताले महंगो मूल्य तिर्नुपर्ने तितो यथार्थता छ । अझ स्वदेशी उत्पादन ले बजार नपाउँनु अर्को प्रमुख समस्या हो । मुस्ताङको स्याउ काठमाडौं ल्याउन नसकेर कुहिएर जाँदै गर्दा हामी चाइनिज स्याउ किनेर खान्छौ । बैतडीमा फलेको आलु या काभ्रेमा फलेको सुन्तला किसानबाट सिधै उपभोक्ताका लागि बजारमा पुग्न राज्यको हस्तक्षेपकारी भूमिका वाञ्छनीय छ ।

अन्त्यमा, अहिले कोरोना महामारीको कारण बिश्व नै आक्रान्त बनिरहेको अवस्था छ ।  कोरोनाको संक्रमण नेपालमा पनि देखिएको छ । अझ नेपाल जस्तो विकासोन्मुक देशको अर्थतन्त्र लाई यसले निकै ठूलो असर पार्नेमा दुईमत छैन । रेमिट्यान्स ले धानेको अर्थतन्त्र अब कसरी उकास्ने ? रेमिट्यान्समा त अब कमि आउँछ ।  विदेश मा रोजगारी गुमाएर कयौं युवा नेपाल फर्किएका छन् । ती युवाले अब अर्थोपार्जनको स्रोत केलाई बनाउँने ? कृषिलाई अर्थोपार्जनको स्रोत बनाउने बारेमा सरकारले बेलैमा सोच्न जरुरी छ । कृषिमा आधुनिक प्रविधियुक्त उपकरण भित्र्याएर स्वदेशी उत्पादन लाई प्राथमिकता दिन सकियो भने नेपाल फर्किएका कयौं युवालाई कृषिमा आकर्षित गराउन मदत गर्छ जसले गर्दा युवालाई रोजगारी मिल्नेछ र देशको अर्थतन्त्र उकास्न लाई सहयोग पुग्नेछ ।

Chandika Timalsina ‘Satyaa‘ विभिन्न विषयमा समसामयिक टिप्पणी लेख्ने गर्दछिन् ।

Chandika Timalsina का थप लेखहरुः

महिला र पुरुष एक अर्काका परिपुरक हुन्, प्रतिस्पर्धी हैनन

युवाहरुले परदेशको सपना किन देख्छन् होला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here