मेरो घरदेश भित्र अर्को एउटा देश छ 
घरदेशको किनारामा लमतन्न छुट्टै प्रदेश
महाकालीको किनारामा घुम्टो ओढेर 
रैथानेलाइ काखी च्यापेर 
बेलाबेला बाहेक चुपचाप रहन्छ।
कर्णाली प्रदेश !

 

मेरो घरदेशलाई 
उसको लक्का जवान त्यति काम लाग्दैन
जति कर्णालीका छोरीचेली काठमाण्डौलाई काम लाग्छ।
सधैं हेपिएर,
थिचिएर लतारिएर 
नाजवाफ हेरिरहन्छ
बिछट्टै सुन्दर देश
कर्णाली प्रदेश।

 

महाकालीलाई बिछ्याएर 
हिङ्ग र सिलाजित शिरमा राखेर 
वैश पर्खिएर बसेको छ ऊ 
केही सपुत जन्माएको थियो 
कर्णालीले 
जो काठमाण्डौ छिरे पछि 
गिद्धहरुको हुलमा मिसिएर 
आज उही सपुत, 
कपुत बनेको छ लाक्षी …..पाजी

 

काठमाण्डौ को दरबार भित्र पसे देखि 
गिद्ध संग मिसिए देखि 
आफू आफै शोषक का झै
गिद्दे नजर डुलाउने भएको छ ….पाजि

 

बेला बेला मा….
रातो सारी , लालि पोते बोकेर 
वर्ष, दुई वर्षमा छिर्छ पाजी
भर्जिन हुन चाहन्छ, कर्णाली प्रदेश।

 

पटक पटक बलात्कृत भएको छ
शरीर तन्काएर लुछी रहन 
नाजवाफ सहन्छ कर्णाली

 

यस सान्नी राज्य मा 
उसबेला देखि कर्णाली नाम पाएसम्म या
विष्पतीहरुको भुरे टाकुरे हुन या
राष्कोटी र स्ववंशी छोटा महाराजाहरुले
मल्ल देखि शाह वंशले समेत 
न्याय गर्न नसकेको
कर्णालीको कान काटिदिएर ,
आँखा घोचिदिएर 
आफू काठमाण्डौमा कर्णालीको सिनो खाएर 
उसै माथि बर्षौ देखि ,
आजका भुइफुट्टा राजा सम्म
आँखा गाढेको गाडेकै  छन्। 
महाकाली तर्फ फर्किएर ,
स्वयम्भूको आँखा फिजाएर
विचरा कर्णाली ,
नबोल्छ, नाजवाफ छ
घरदेश भित्रको अर्को देश कर्णाली प्रदेश

 

फकाउँछ सपना देखाउँछ 
राजारानी , काठमाण्डौको हिस्सा सुनाउँछ 
मोहनी लगाएर ल्याप्चे लगाउने ,
रैथाने बुढि औला पाजीले चोरी लान्छ ,
कुन जितको खुशीयालीमा 
माला र खादा लाएर ,
अनि देउडाको तालमा हात हल्लाएर 
लाग्छ घरदेश ,
घरदेश भित्रको अर्को एउटा देशबाट

 

खोले खान नपाउने कर्णालीले
 बुढी औंला चिनो मा दिएपछि 
बाकी चार औंला ले मुख लोपार्न सम्म गार्हो छ
 कसरी सकोस् विर्ता बचाउन , 
कसरी सकोस् वीरता देखाउन , 
विचरा कर्णाली प्रदेश , 
घर भित्रको एक अर्को देश 
अब आफ्नो अधिकार गुमाएको छ।
आफ्नो हिङ गुमाएको छ
अनि बिच्छ्याइएको महाकाली समेत गुमाएको छ।

 

मेरो घरदेश भित्र अर्को एउटा देश छ ।
घरदेशको किनारामा लमतन्न छुट्टै प्रदेश
महाकालीको किनारामा घुम्टो ओढेर 
रैथानेलाइ काखी च्यापेर 
बेलाबेला बाहेक , चुपचाप सहन्छ।
कर्णाली प्रदेश !

 

एकराज थापा ! ०५ वैशाख २०७७ l ०४: ३० बजे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here