विवेकशील नेपाली दलले कोरोनाको कहर बिच विदेशमा रहेका नेपाली बारे सरकारको प्रभावकारी गतिविधि नदेखिएको भन्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको ध्यानाकर्षण गराएको छ।साथै, सरकारले विदेशमा बसेका नेपालीको समस्यालाई सम्बोधन गर्न चाल्न सक्ने कदमहरूबारे समेत ८ बुदें सुझावहरू पेस गरेको छ।

विवेकशील नेपालीले प्रवासमा बसेका नेपालीहरूको समस्या बारे वकालत गर्दै आएको छ। विभिन्न देशमा रहेको आफ्नो सङ्गठनहरू मार्फत नेपालीहरूलाई सहयोग गर्ने, चिकित्सक अनि मोनोवैज्ञानिक परामर्श दिने काम समेत विदेशमै गर्दै आइरहेको छ। साथै, विवेकशील नेपाली दलले विदेशबाट फर्केका नेपालीलाई उहाँहरूको योग्यता अनि क्षमता अनुसार स्वदेशमै व्यवस्थापन गर्न ‘वर्क फर नेपाल (Work4Nepal)’ वेब पोर्टल समेत सञ्चालन गर्दै आइरहेको छ।

उक्त भेटमा विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे, सूचना तथा सञ्चार विभाग प्रमुख आलोक सुबेदी, संघिय समिति सदस्य आशिष राई अनि प्रवास प्रदेशका सचिव जीवन कार्की उपस्थिति थिए।  उक्त भेटमा, विवेकशील नेपाली दलका नेताहरूले सरकारको काम गराई निकै ‘स्लो’ भएको अनि सरकार जति गम्भीर हुन पर्ने हो, त्यति नभएको भनेर चिन्ता व्यक्त गरेका थिए। विवेकशील नेपालीका नेताहरुले अहिले समस्या परेका नेपालीहरुलाई उद्दार अनि राहतको व्यवस्था गर्न अनि निकट भविष्यमा फर्किदै गरेका नेपालीहरुलाई योजनावद्ध हिसाबबाट व्यवस्थापन गर्न योजना बनाउन सुझाव दिएका थिए।

जवाफमा, परराष्ट्रमंत्री प्रदीप ज्ञवालीले आफूहरूले काम गरिरहेको कामको बारेमा जानकारी दिँदै, अहिले परिस्थिति त्यति सहज नभएको जानकारी गराउनु भएको थियो। “ सरकारले योजना बनाएर काम गरिरहेको छ। हामी दुतावास मार्फत थप सक्रिय भएर काम गर्नेछौं ” परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो।

विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले सरकारले विदेशमा रहेका नेपालीको बारेमा सरकार गम्भीर नदेखिएकोमा चिन्ता व्यक्त गर्दै सरकारलाई अभिभावकत्व ग्रहण गर्न अपिल गरेका थिए। सरकारलाई आफूहरूले ‘वर्क फर नेपाल’ को डाटा, आफ्नो विदेशमा रहेको सङ्गठन अनि विवेकशील नेपालीसँग भएको स्रोत साधन दिएर सहयोग गर्न तयार रहेको कुरा समेत बताएका थिए।

विवेकशील नेपालीको ८ बुदें सुझावपत्र यस्तो थियो:

मिति : २०७७/१/२६

श्री माननीय प्रदीप ज्ञवाली ज्यू,

मन्त्री, परराष्ट्र मन्त्रालय, 

सिंहदरवार काठमाडौँ ।

विषय : कोभिड १९ को महामारीमा फसेका नेपाल बाहिरका नेपाली नागरिकहरुका बारेमा ।

हाल कोभिड-१९ को महामारीले नेपाल लगायत विश्वलाई ग्रसित गरिरहेको अवस्था छ । नेपाल सरकारले हालसम्म कोरोना रोकथामका निम्ति लिएका कदमहरुका निम्ति  विवेकशील नेपाली दल धन्यवाद दिन चाहन्छ । विवेकशील नेपाली दल नेपाल सरकारको कोरोना रोकथाममा अझ सशक्त भूमिकाको अपेक्षा समेत गर्दछ ।

तर, विश्वको १४० देशमा रोजगारी, व्यवसाय वा उच्च शिक्षा हासिल गर्नको निम्ति छरिएर रहेका करीब एक चौथाइ जनसंख्या विदेशी भूमिमा रहेको र उनीहरुप्रति सरकार जिम्मेवार र अभिभावकको रूपमा प्रस्तुत नभएको प्रति भने दल चिन्तित रहेको छ ।  गैर नेपाली आवासीय संघले बैसाख २० सम्ममा कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, करिब ५ हजार ३ सय ६ जना संक्रमित भएको जनाएको छ ।

वर्तमान विश्वव्यापी महामारीका कारण कैयौं नेपाली नागरिकहरु अर्काको देशमा रोजगारी गुमाई खान बस्न समेत नपाएर बिचल्ली परेका समाचार बाहिर आएका छन् । कैयौं नेपाली नागरिकहरुलाई कम्पनीहरूले रोजगारी दिन नसके पनि कम्तीमा खान बस्नको लागि व्यवस्था गरेर बन्दाबन्दी खुले लगतै नेपाल फर्काउन तयारी अवस्थामा राखेका छन् । यसैगरी कैयौं नेपाली नागरिकहरु बाध्य भएर अवैधानिक कामदारको रुपमा लुकीछिपी अर्काको देशमा कार्यरत छन् जसको अहिलेसम्म कुनै लगत रखिएको छैन । केही देशले अवैधानिक रुपमा रहेकाहरूलाई आममाफीको घोषणा गरी नेपालसम्म नै ल्याइदिने व्यवस्था मिलाउने भन्ने समाचारहरू पनि आएका छन् । आफ्नो घर व्यवहार धान्न  र परिवार पाल्नकै निम्ति विदेशिएर देशमा विप्रेषण  भित्र्याई  देशको  अर्थतन्त्रलाई  टेवा  दिने  जिम्मेवार नागरिकहरु आज  रोगको  डर  र  भोली  भोकको भयले मानसिक पीडाबाट  गुज्रिरहेका छन् । उहाँहरु नेपाल फर्कन चाहनुहुन्छ तर नेपाल फर्काउन नेपाल सरकारले आवस्यक चासो नदेखाएको भन्ने हाम्रो ठहर छ । यो जटिल घडीमा राज्यले  अभिभाकत्व  ग्रहण गर्दै  आफ्ना नागरिकहरुको जीवन रक्षाका निम्ति तत्काल राहत तथा उद्धारको थालनी गर्नुका साथै उहाँहरुलाई नेपाल फर्काउनको लागि विवेकशील नेपाली दल नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको जीवन रक्षा, रोजगारी गुमाउने नागरिकहरुको लागि पुन:रोजगार वा स्वरोजगारको लागि उपयुक्त व्यवस्था तथा विप्रेषण ह्रास भई अर्थतन्त्रमा पर्ने असरलाई  सम्बोधन गर्न, कृषि तथा उत्पादनमुखी उद्यमको विकास गरी आर्थिक रूपमा आत्मनिर्भर उन्मुख बनाउनका लागि  विवेकशील नेपाली दल सरकारसँग सहकार्य गर्न सदैव तत्पर रहेको जानकारी गराउँदै निम्न बमोजिमका सुझावहरु प्रस्तुत गर्दछ :

१. विदेशमा नेपाली दूतावासहरुले सो देशको सरकारसँग समन्वय गरी कोभिड-१९ को महामारीबाट सङ्क्रमित नागरिकहरुको तथ्याङ्क लिई  प्रभावकारी  उपचारको लागि पहल  गर्ने र  उक्त देशमा कार्यरत नेपाली नागरिकहरुसँग  समन्वय  तथा सहकार्य गरी कोभिड-१९ को महामारीबाट सङ्क्रमित भए पनि विविध कारणले आवश्यक उपचार  पाउन नसकेका आम नेपाली नागरिकहरुको उपचारका लागि पहल गर्ने साथै दूतावासले  अनलाइन  मार्फत मनोपरामर्श सेवा प्रदान गरी नागरिकहरुलाई  अवशाद हुनबाट बचाउने । 

२. कोभिड-१९ को महामारी रोकथामको लागि गरिएका बन्दाबन्दी लागु भएको कारणले धेरै जसो कम्पनीहरु बन्द हुन गई आर्थिक रूपमा धरासायी बनी मजदुरलाई काम तथा पारिश्रमिक समेत दिन नसकेको  कारण वैदेशिक  रोजगारीमा  रहेका  धेरै नेपाली  नागरिकहरु खान बस्नका लागि समेत अप्ठेरो परेको समस्याहरु विभिन्न देशबाट दिनहुँ आउने गरेकोले सम्बन्धित देशका दूतावासहरुले  रोजगारदाता कम्पनीहरुसँग समन्वय गरी  बन्दाबन्दी नखुलुन्जेलसम्म कम्तीमा खान बस्नको लागि  व्यवस्था  गर्नको  लागि पहल गरिदिने । खान  बस्नको  लागि  रोजगारदाता  कम्पनीले  व्यवस्था  गर्न  नसकेको  खण्डमा  सम्बन्धित  देशका  राजदूतावासले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा भएको करिब ६ अर्ब रुपैयाँलाई  प्रयोग गर्ने  गरी  राहतको व्यवस्था गर्ने  ।     

३. कोभिड-१९ को महामारीको कारणले बढ्न सक्ने राजदूतावासको कामको चापलाई व्यवस्थापन गर्नको लागि उक्त देशमा रहेका कामदारहरुको संख्यालाई मध्यनजर गरी दूतावासमा थप कर्मचारीको व्यवस्था गर्ने ।   हाल नेपालमा रहेका तर बन्दाबन्दीको कारण नेपालका  विभिन्न  कार्यालय जस्तै परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, श्रम विभाग, राहदानी विभागमा धेरै काम नरहेको हुँदा त्यहाँ कार्यरत कर्मचारीहरुलाई विभिन्न देशको राजदूतावासमा काजमा  खटाउने तथा  छोटो समयको  लागि  करार  कर्मचारी  भर्ती  गरी आवश्यकता  अनुरूपको  कर्मचारी नरहेको देशमा  तत्कालै  पठाई  दूतावासको  काम  कारवाहीलाई  प्रभावकारी  बनाउने ।

४. कोभिड-१९ को महामारीको कारणले रोजगारी गुमाई विदेशमा बिचल्लीमा परेका नेपाली  नागरिकहरुलाई  तत्कालै स्वदेश  फर्काउने  व्यवस्था गरी  क्वारेन्टिनमा  राख्ने  प्रबन्ध  मिलाउने र कम्तीमा ६ महिनाको लागि जीविकोपार्जन भत्ता वैदेशिक रोजगारी बिमा कम्पनी मार्फत भुक्तानी दिलाउने । 

५. विदेशबाट छुट्टीमा नेपाल आउन चाहने नागरिकहरुलाई उनीहरुकै खर्चमा क्वारेन्टिनमा बस्ने प्रबन्ध मिलाई नेपाल ल्याउने व्यवस्था गर्ने । नागरिकहरुलाई क्वारेन्टिनमा राख्न सहुलियत दरका होटल, लजहरुलाई प्रयोग गर्ने गरी व्यवस्था मिलाउने ।  

६. स्वदेशमा नै रोजगारीको सिर्जना गर्ने कार्यक्रमहरु मार्फत  रोजगारी  सिर्जना  गरी  रोजगारी  प्रदान  गर्ने  साथै उद्यमशीलताको परामर्श, ऋणमा उपलब्धता, करमा छुट लगायतका सुविधा उपलब्ध गराई नयाँ व्यवसाय खोल्न प्रोत्साहित गरी स्वरोजगार बनाउने । सरकारी तथा निजी क्षेत्रका उद्योगधन्दाहरुमा लगानी वृद्धि गराउने, विशेष संरक्षण, प्रबर्धन गर्ने  र उत्पादन क्षमता वृद्धिद्धि गर्दै थप रोजगारीको सिर्जना गर्न पहल गर्ने ।   

७. वैदेशिक रोजगारीको शिलशिलामा कोभिड-१९ बाट संक्रमित भएर विदेशमै ज्यान गुमाउनेहरुको हकमा नेपाल सरकार वैदेशिक रोजगार कल्याणकारी कोषबाट र वैदेशिक रोजगार बिमा बापत प्राप्त हुने सम्पूर्ण रकमहरु यथाशीघ्र परिवारको नाममा भुक्तानी दिने व्यवस्था गर्ने । उहाँहरुको सन्तानको शिक्षादीक्षाको लागि छात्रवृत्तिको व्यवस्था गर्ने । 

८. विदेशमा रहेका नेपालीको गम्भीर अवस्था, तथ्यांक, राहत, देश फर्कने चाँजोपाँजो यथाशक्य छिटो बन्दोबस्त गर्न,  व्यवस्थापन ढिलाइ नगर्न र अभिभावकत्व लिन आह्वान गर्दछौँ र त्यो नै राजधर्म हो भन्ने स्मरण गराउन चाहन्छौं । 

नेपालीहरुको जय होस् । नेपाल आमाको जय होस् । 

धन्यवाद 

जीबन कार्की 

सचिब

प्रवास कमिटी

विवेकशील नेपाली दल

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here