धर्म राजनीतिभित्रको सबैभन्दा ठूलो अन्तरविरोध सधैँ रहिरह्यो । धर्म व्यक्तिको नैतिकता र राजनीति राज्य सञ्चालनको नीतिसँग सम्बन्धित छ । पौराणिक कालको राजनीति धर्मबाट निर्देशित थियो भने व्यक्ति धर्मको अधिनमा थियो । आधुनिक कालको राज्यहरुमा धार्मिक सँस्था र राजनीतिक सँस्थाबीच अन्तरद्वन्द्व युरोपको पुनर्जागरणपछि फरक तरिकाले अघी बढ्यो । पूर्वीय दर्शन र नेपाल लगायत हिन्द उपमहाद्वीपमा भने राज्य राजनीतिबाट र व्यक्ति धर्मबाट निर्धारित हुने स्थापित मान्यता थियो जुन आधुनिक ‘धर्म निरपेक्षता’ को मर्मसँग नजिक छ । नेपालको मौलिक प्रकृतीको  सनातन धर्म सँस्कृतिकै आधारमा स्थापित आधुनिक राज्य हो । अहिलेको संविधानले निर्देशित गरेको धर्मप्रतिको मान्यतामा सर्वसम्मति नभएपनि यसको मर्मबाट टाढा गएर खोजिने समाधान पनि दीगो भने हुँदैन ।

संविधानको प्रस्तावनामै ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै’ जारी गरिएको दस्तावेजको मूल मर्म नेपाली समाज र माटोको अनुकुल छ । पारिभाषिक रुपमा पूर्ण धार्मिक वा पारम्पारिक धर्मनिरपेक्षताको कठोर परिभाषा खोज्नु भन्दा संविधानको मर्मको अभ्यास हुन जरुरी छ । एउटा पूर्ण राज्य धर्म, सँस्कृति, परम्परा र सम्पदाहरु बिना अपुरो रहने कुरा संविधानले निर्देश गरिदिएको महत्वले बुझाँउछ ।  यसर्थ, सम्पदा सँस्कृतिको संरक्षण र जागरण व्यक्ति र राजनीति भन्दा माथी राज्यको मूल कानूनले स्वीकारेर निर्देशित गरेबमोजिम रहनुपर्छ ।

राज्यले अमुक धर्मको पक्षपोषण र अमुकको विरोध भन्दा धर्मको विवेकलाई राज्यको निर्देशक मानेर धर्मका आधारमा हुने शोषण र प्रलोभनका आधारमा हुने धर्मपरीवर्तनविरुद्ध राज्य कडा रुपमा प्रस्तुत हुनुपर्छ । राज्यले यो भन्दा बाहेक धर्मका सवालका अतिरिक्त चासो राख्नु हुन्न भन्ने हाम्रो संवैधानिक मान्यतालाई सम्मान गर्नुपर्छ । धर्म व्यक्तिसँग जोडिने भएपनि अहिलेको व्यक्ति पनि फराकिलो भएको छ । उसलाई कानून, समाज, व्यवसायिकताले बाँधेको हुन्छ । तथापी धर्मको महत्व र आवश्यकता व्यक्तिको जीवनमा उत्तिकै छ जति आदिमकालमा थियो । अहिलेको व्यक्ति धर्मलाई अध्यात्मको पर्यायको रुपमा लिन्छ जुन समयसापेक्ष र प्रशंसनीय छ । नेपालका बाहुल्य धर्महरु प्राकृत र सँस्कृतिकै रुपमा रहेका छन् । नेपालीहरु धर्म, अध्यात्म र परम्परासँग सुपरिचित छन् ।

धर्मसँगै जोडिने तर फरक अन्तर्य हो सँस्कृति । सँस्कृति चाहिँ जीवनशैली हो । सबैलाई स्वीकार्य बानी व्यहोरा समाजका सँस्कृति बन्छन् । सँस्कृति समाजसँग बढी सम्बन्धित छ । साँस्कृतिक विविधता र वैभवशाली इतिहास नेपालको राष्ट्रिय पहिचान हो । मुलुकको रुपमा नेपालको पहिचान पनि नेवा, मिथिला, खस सिञ्जाली, डोट्याली, किरात, लगायतका सभ्यता र सँस्कृतिहरुको पहिचान हो । नेपाल राज्यको चरित्र पनि यीनै विविध सामुदायिक सँस्कृतिहरुको समष्टि हो । यही समग्रतामा हाम्रो राष्ट्रिय सँस्कृति हो । यही विविधतामा अपनत्व नेपाली नागरिकको अपनत्व हुन्छ । आफ्नोमा मात्र हैन विविधतामा समेटिएका अरुको पनि सँस्कृतिलाई अपन्तव दिनाले नै यो राज्य स्थापना भई स्थीर भएको हो । सँस्कृति तबसम्म मात्र अस्तित्वमा रहन्छ जबसम्म उ स्वीकार्य हुन्छ । समाजलाई सुमार्गमा लगाउने बानी तथा अभ्यास मात्र सँस्कृति हुन् । सबै परम्परा सँस्कृति हुँदेनन् । परम्परा भित्रका रुढीवादहरुलाई परिस्कृत गर्दै असल परम्परालाई निरन्तरता दिनुपर्छ । परम्पराहरुमा समयसापेक्ष सुधार गर्दै जानुपर्छ ताकी परम्पराको मूल उद्देश्य समाजमा परिवर्तन र निरन्तरताबीचको सन्तुलन कायम रहोस् ।

धर्म र सँस्कृतिले छोडेका अभ्यासहरु परम्पराको रुपमा रहन्छन भने ती अभ्याका क्रममा रहने भौतिक तथा समाजिक संरचना र वस्तु सम्पदा हुन् । सम्पदा समाज र राज्य दुवैले बराबरी महत्वका साथ संरक्षण गर्नुपर्छ । मौलिक खालको विकाश मोडल र मौलिक राजनीतिक शैली/दर्शन खोझ्न आफ्ना धर्म सँस्कृति र सम्पदा सँस्कृतिहरुको अध्ययन राज्यले नै गर्नुपर्छ । हाम्रा पौराणिक तथा पुराना सँस्कृतिहरुमा हाम्रो माटो सुहाँउदो विकाशको नमुना छ । साँचो अर्थमा समाजवादी विकाशका संरचना र दीगो विकाश त हाम्रा सम्पदा र सँस्कृतिमा सिमित भएको छ । अरबौँको निर्माणमा बनेको पूल उद्घाटनै नगरी बन्द गर्नुपर्ने कहालीलाग्दो विकाश निर्माण शैलीमा हामी हुँदा हाम्रा सयौँ हैन हजारौँ वर्ष पुराना सम्पदाहरु अझै ठडीएका छन् । समाज विभाजित हुने हैन समाज एकतृत हुने राजनीतिक दर्शन हामीकहाँ थियो भन्ने हाम्रा सँस्कृतिहरुले देखाउँछन् ।  बैतडीका गाँउमा बनेका देवल हुन याँ काठमाण्डौँका पाटीपौवा तिनमा कुशल समाजिक सन्तुलन र दीगोपन झल्किन्छ । भौतिक संरचना बनाउँदा सँस्कार, सँस्कृति र पर्यावरणीय पक्ष मजासँग बुझेर मात्र गरिन्थ्यो ।

प्रदेश सभा र सदस्यको दायीत्व

प्रतिनिधिमुलक संसदीय व्यवस्थामा स्थापना गरिएको संघीयताकव पूर्वार्धमा हामीले प्रदेका तत्कालका समस्यामात्र हैन समस्याहरुको जरा सम्मै पुग्नुपर्छ । समस्याहरुको मात्र हैन प्रदेशका सम्भावनाहरुको खोजी गर्दा आफ्नो भूगोलको, भूगोल भित्रको समुदायहरुको र यहाँको सँस्कृतिहरुको विगत खोज्नुपर्छ । प्रदेश सभाले मुलुकमा संघीयता र विकेन्द्रिकरणको अभ्यास सुरु भएको झल्को दिन सक्नुपर्छ । सदनमा प्रदेश भित्रमा मूल साँस्कृतिक समुदायहरुलाई राज्यसंयन्त्रमा आफ्नो पहिचान र पहुँच प्राप्त भएको महशुस प्रदेश सभाले गराउन सक्छ । प्रदेश सरकारले ल्याएका प्रदेशको सँस्कृति र सम्पदासँग सम्बन्धित विधेयक या नीतिहरुमा नागरिकस्तरमा छलफल गराउन प्रदेश सभाले सक्नुपर्छ । प्रदेश सभामा प्रतिनिधित्व भएका अल्पशंख्यक समुदायका सदस्यको सँस्कृति सम्बन्धी आवाज प्रदेश सभाले स्वीकार र सम्मान गर्न सक्नुपर्छ भने प्रतिनिधित्व नै हुन नसकेका समुदायहरुलाई पनि मुलुकले हामीलाई चिन्छ भन्ने पहिचान र आत्मसम्मानको प्रत्याभूति  हुनपर्छ । 

अहिलेको परिपेक्षलाई हेर्दा सांस्कृतिक महत्वका सम्पदा, शैली र पारम्परिक विश्लेषण हरेक क्षेत्रको प्रतिनिधित्वको रूपमा ढाल्नु नै एक महतत्वपूर्ण र जरुरी जिम्मेवारी र कर्तव्यको पाटो भनेको छ । धर्मलाई राजनीतिको महत्वपूर्ण  भाग बनाँउदा राजनीतिलाई धर्मको मुख्य भाग बनाउन नदिन सावधानीका साथ नागरिक, धर्म र राजनीतिको स्वस्थ नाता लाई सँगै डोर्याउन सक्ने कर्तव्य र कावलियत प्रदेश सभासँग हुनुपर्छ । सम्पदा र सँस्कृति त नेपाल जस्तो पर्यापर्यटनमा आधारित अर्थतन्त्रका लागि अति महत्वपूर्ण हुन जान्छ । आँखिर पर्यटन र अर्थतन्त्र नै हाम्रो सभ्यता र सम्पदामा अडेको छ भन्ने कुरा प्रदेश संरचनाहरुले पनि आत्मसात गर्न जरुरी छ । नेपाल सवा अरब हिन्दु र आधा अरब बौद्धमार्गीहरुको आस्थाको केन्द्र हो । यो जनशंख्याको केहि प्रतिशत मात्रै पर्यटनको रुपमा भित्र्याउन सके नेपाली अर्थतन्त्र कहाँ हो कहाँ पुग्थ्यो । नेपाललाई  भारत र चीन जस्ता भीमकाय सभ्यताहरुको सेतु बनाउन मुख्य आधार हाम्रो सँस्कृति नै हो । विविधतामा टिकेको एकिकृत सँस्कृतीको पहिचान र सम्मान गर्न प्रदेश सभा नागरिकहरुसँगको सहभागितामा अघी बढ्नुपर्छ । 

प्रदेश सभा सदस्यहरुले चाहीँ आफ्नो प्रतिनिधित्व भएको ठाँउ र समुदायको आवाज सदनमा लगिदिनुपर्छ भने प्रतिनिधिका हिसाबले पार्टीको र आफ्नो हैन नागरिक तथा मतदाताको भावनालाई प्रतिविम्बित गर्नुपर्छ । सानो गाँउ देखि सिंगो मुलुकसम्म फैलिएको विविधता नै राष्ट्रिय पहिचान र सम्पत्ति हो भन्ने कुरा प्रदेश सभामा हरेक  सदस्यले स्थापित गराउनुपर्छ । कुनै अमुक समुदायको मात्र सँस्कृति सम्पन्न भएर मात्र मुलुकको सँस्कृति सम्पन्न हुँदैन ।  नेपाली राष्ट्रिय पहिचान र हाम्रो स्वत्व हाम्रो विविधताले भरिएको सँस्कृतिमा छ र हाम्रो समृद्धिको सम्भावना पनि यहि सँस्कृति सम्पदाको अन्तर्यभित्र लुकेको छ ।  नेपालको जय होस् ।

(लेखक बिराजभक्त श्रेष्ठ बागमति प्रदेश सभा सदस्य हुनुहुन्छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here