अतिक्रमीत लिम्पियाधुरा कालापानी लिपुलेकका कुरा गरिरहँदा त्यस व्यास क्षेत्रका वासिन्दाहरुको कुरा छुटायो भने अन्याय हुन्छ । यस क्षेत्रमा आदिवासी व्यासी शौका जातिको बसोबास छ ।जो हिउँदे महिनाहरुमा सदरमुकाम खलंगा र बर्खामा व्यास क्षेत्रमा बस्ने गर्दछन् । यो मौसमी बसाइँसराइलाईलाई स्थानीय भाषामा कुन्चा सर्ने भनिन्छ । हरेक बर्ष जस्तै यस बर्ष पनि कुन्चा सर्ने समय भैसकेको छ । तर यस बर्ष भने अरु बर्ष जस्तो सजिलो छैन। कुन्चा सर्ने व्यवस्था मिलाउन माग गर्दै आन्दोलनमै उत्रन परेको छ । उनीहरूको माग हो व्यास जाने बाटोको व्यवस्था गर्नुपर्यो ।
नेपालकै बाटो भएर आफ्नो भुमि जाने रहर बर्षौ देखीको हो तर १३० किलोमीटरको खलंगा- तिंकर सडक मध्ये ३८ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ भने २० किलोमिटरमा मात्रै गाडी गुड्छ । आ.ब. २०४१/४२मा सुरु भएको महाकाली करिडोर ( ब्रह्मदेव-झुलाघाट-खलंगा-तिंकर )अन्तर्गतको खलंगा- तिंकर खण्ड २०६५/६६ मा १० बर्षभित्र निर्माण गरिसक्ने लक्षका साथ सुरु भएको थियो। यो सडक कहिले निर्माण सप्पन्न हुने हो टुङ्गो छैन।
पन्चायत कालमा राष्ट्रिय पन्चायत सदस्य बहादुर सिंह ऐतवालको पहलमा बनेको व्यास सम्म जाने घोरेटो बाटो अहिले बन्द छ । उक्त बाटो खुलाउन कुनै तहका सरकारले चासो देखाएका छैनन् । सिमा बन्द भएका कारण ईन्डियन बाटो प्रयोग गरेर व्यास जान सकिने अवस्था छैन । अर्को तर्फ नेपालमा अतिक्रमीत भुमिका बारेमा उठिरहेको आवाजका कारण ईन्डियन भुमी प्रयोग गर्दा हप्कीदप्की र दुर्व्यवहार सहनु पर्ने अवस्था छ । महाकाली नदीमा तुईनको साहाराले वारपार गर्दा कैयौंले ज्यान गुमाइसकेका छन् ।
पन्चायतकाल देखि अहिलेसम्म दार्चुला जिल्लामा कैयौं बजेट आयो तर नेपालतर्फ बाटो बनाउने कुरामा कसैको ध्यान गएन ।बनेकै बाटो पनि मर्मतसम्भार गरि खुलाउने तर्फ कसैले पहल गरेनन् । मान्छे त जसो तसो आवत जावत गर्लान् तर पशु चौपाया हरुलाई के गर्ने ?
हामी सबैले सिमानाका सवालहरु उठाईरहँदा उक्त क्षेत्रमा बस्ने नागरिकहरुको पिडालाई नजर अन्दाज गर्नु हुँदैन । सुरक्षाकर्मी सिमानामा राखेर मात्रै सिमानाको सुरक्षा हुँदैन । त्यस क्षेत्रका नागरिकहरुको समस्या पनि समाधान गर्नुपर्छ । अतिक्रमीत नावी,कुटी,र गुन्जी गाउँका स्थानियको बारेमा त राज्यले चासो राखेन, छाङ्गरु तिंकरतिर बस्नेहरुका बारेमा त सोचोस । ३ वटै तहका सरकारका विरुद्ध स्थानियले आक्रोश पोख्दै नाराबाजी गरिरहेका छन् । यो राम्रो संकेत होईन तत्काल राज्य पक्ष गम्भीर हुनुपर्ने देखिन्छ ।
सरकारले तत्काल आफ्ना सबै संयन्त्र प्रयोग गरेर व्यास जाने घोरेटो बाटो संचालनमा ल्याएर कुन्चा सर्न देखिएको समस्या समाधान गरोस् । उक्त क्षेत्रका नागरिकहरुले खम्पा विद्रोह दमन गर्नमा राज्यलाई गरेको सहयोग देखि सिमा सुरक्षाका लागि गरेको योगदानको उचित कदर गरियोस् । खलंगा -तिकर सडक खण्ड सेनालाई निर्माणको जिम्मा दिने कुरा आएको छ आशा गरौं अब निर्धारित समयमा नै सो सडक पनि निर्माण सम्पन्न हुनेछ । हामीले लिम्पियाधुरा कालापानी र लिपुलेक क्षेत्रमा फहराउन लगिने राष्ट्रिय झण्डा विदेशी भुमिबाट लुकाएर लानुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ ।