पितृसत्ता एउटा मानसिक तथा सामाजिक प्रणाली हो। जसले पुरुषहरूलाई उत्तम मान्छ र महिलाहरुलाई दोस्रो दर्जामा राख्छ । पुरुषहरू उत्तम हुन्छन् र महिलाहरु पुरुष भन्दा निम्न हुन्छन् भन्ने धारणा राख्छ ।
१. पितृसत्ताको प्रभाव कहाँबाट सुरु हुन्छ? जब एउटा बच्चा बिस्तारै ठूलो हुन्छ उसले आफ्नो जन्मस्थान र परिवेश अनुसारको रहनसहन चालचलन र मुल्यमान्यता अनुसार आफुलाई त्यही अनुकूल बनाउदछ,उसले जस्तो सिक्यो उ त्यस्तै बन्दछ,हाम्रो समाजिक चिन्तन पितृसत्तात्मक छ जसको कारण उसले पितृसत्ता नै सिक्छ । उदाहरण लिउ: कुनै परिवारमा छोरा जन्मियो भने हर्षोल्लास का खुसी मनाईन्छ, तर त्यस्ता कमै परिवार होलान् जो छोरिको जन्ममा हर्षबढाई गरुन् , सानैदेखी समाजले विभेद सिकाउँछ,छोरिलाई घरभित्रको काम गर्न,थोरै बोल्न सिकाउँछ भने छोरा मान्छेलाई कठोर तथा आक्रामक हुन सिकाउँछ । कुनै छोरा मान्छे शारीरिक रुपमा कमजोर अथवा भावनात्मक कोमलता भएको छ भने उसलाई नामर्द को ट्याग भिराईहाल्छ समाजले । अर्को उदाहरण लिउ : कुनै काममा घरका श्रीमान श्रीमती सङ्गै बाहिर गएर आए भने श्रीमान घर पुगेर टिभिको रिमोट समात्ने होकि मोबाईल अथवा पत्रीका पढ्ने हो त्यता ब्यस्त हुन थाल्छ तर श्रीमतिहरु भान्सामा छिरेर काम गर्न थाल्नुपर्छ । हामिले घरघरमै पितृसत्तालाई शिरोपर गरिरहेका हुन्छौं जसको बारेमा कतिपय अवस्थामा हामिलाई ज्ञान नहुन पनि सक्छ ।
२. पितृसत्ताले महिलामाथी कस्तो प्रभुत्व जमाएको छ? हाम्रा धार्मिक चालचलन रितिरिवाज पितृसत्तात्मक नै छन् । धर्मकै कुरा गरौँ,हामिले महाभारत पढेकै होला ! नपढेको भए पनि सुन्नु भएको त पक्कै होला । महाभारतमा धर्मनिष्ट र सत्यवादी राजा भनेर चिनिने युधिष्ठिरले आफ्नो धर्मपत्नी द्रौपदी लाई जुवामा बस्तु सरह दाउमा लगाए र हारे जसको कारण भारी सभामा द्रौपदी को बेइज्जत गरियो । आफ्नो श्रीमती लाई जुवामा दाउ लगाउनु कहाँसम्मको अधर्म हो यो हामी आफै बिचार गर्न सक्छौ ! जुवामा त किनबेच हुनसक्ने सम्पत्ति तथा बस्तु दाउमा लगाउन सकिन्छ तर श्रीमती नै दाउमा लगाउँने लाई हामी सत्यवादी भन्छौ अझैपनी?जसले आफ्नो श्रीमतिलाई बस्तुसरह सोचे तिनैको इतिहास पढेर हामी खुसी हुन्छौं अनि तिनै द्रौपदी को चरित्र माथी हाँस्छौ ! हामिमा पितृसत्तात्मक सोच कति बिकसित छ त्यही बाट थाहा हुन्छ ।
हाम्रा रितिरिवाजकै कुरा गरौँ,हाम्रो रितिरिवाजमा पतिलाई परमेश्वर मान्छन, पतिको खुट्टा धोएर पानी सम्म खान्छन् हाम्रै आमा हजुरआमाले खान्थे । पतिलाई परमेश्वर कसले बनायो? श्रीमान श्रीमती त एक सिक्काको दुई पाटा हुन् ! एक रथका दुई पाङ्ग्रा हुन् जुन एकको अस्तित्व बिना अर्को सम्भव छैन तर एकैरथका दुई पाङ्ग्रा एउटा चाहि शक्तिशाली परमेश्वर अनि अर्को चाहिँ निम्न कसरि हुन्छ? एकै सिक्काका दुई पाटा एउटा ठुलो अर्को सानो कसरि हुन्छ? के यो पितृसत्तात्मक चिन्तन ले बनाएको नियम होइन त? जहाँ पतिलाई परमेश्वर बनाईएको छ अनि महिलालाई उसको खुट्टा ढोग्ने बनाईएको छ । यसबारे हाम्रो चेत कहिले खुल्छ !
३. पितृसत्ताको सिकार पुरुष पितृसत्ता एउटा यस्तो प्रणालि हो जसको सिकार महिला मात्र होइन पुरुष पनि उत्तिकै मात्रामा छन् । पितृसत्ताले पुरुषलाई जबर्जस्ति कठोर बन्न सिकाउँछ आक्रामक बन्न सिकाउँछ,छ्या छोरा मान्छे भएर नि कस्तो रुन्छे रहेछ कस्तो आईमाई जस्तो ! पितृसत्ताले पुरुषहरूको भावनात्मक कोमलता माथी हस्तक्षेप गर्छ जसले गर्दा उनिहरुलाई मानव बन्न भन्दा पनि एउटा कठोर पुरुष बन्न बाध्य बनाउँछ । पितृसत्ताले पुरुषहरू माथी ठूलो आर्थिक भार थोपरिदिएको छ जसले श्रीमतिको कमाई खानेलाई नामर्द को ट्याग लगाईदिन्छ, श्रीमती पाल्न सक्ने हुनु लाई नै मर्द हुनु भनेर परिभाषित गरिदिन्छ । समग्रमा पितृसत्ताले पुरुषहरूको भावना माथी बन्देज गर्छ । अन्त्यमा – महिला र पुरुष दुबै पितृसत्ताको सिकार भएका छन् तसर्थ महिला र पुरुष मिलेर नै यो प्रणालिको विरुद्धमा लड्नुपर्छ। पितृसत्तात्मक चिन्तनको विरुद्धको लडाई पुरुषहरु विरुद्धको लडाई होइन भनेर बुझ्नु जरुरि छ ।
-चण्डिका तिमल्सिना ‘सत्या’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here