साधारण चलिरहेको मान्छेको जीवनमा एक्कासी महामारीले उग्र रूप लिएपछि जनजीवन अस्तव्यस्त बनेको छ।यहाँ कोई रोगले त कोई भोक र शोक ले मान्छेहरू मरिरहेका छन्।विश्वभरि फैलिएको महामारीले हाम्रो देश नेपाललाई पनि अछुतो राखेन।यहाँपनि महामारीले विकराल रूप लिसकेको छ र अझै हाम्रो जीवन अस्तव्यस्त नै छ।महामारी फैलिएको यत्तिका दिनसम्म पनि जनतको हितको लागि सरकारले उचित कदम चाल्न सकिरहेको भने छैन।महामारीले सबैको जीवन अस्तव्यस्त बनाए पनि,यसको सबैभन्दा बढी प्रभाव बालबालिका माथि परिरहेको छ।महामारीको कारण शैक्षिक संघ संस्था हरु र विद्यालय हरु बन्द रहेका छन्।त्यसकारण बालबालिकाहरू कयौं महिना घरमै बसेर बिताइरहेका छन्।
यहाँ विद्यालय बन्द भएपनि पढाइलाई निरन्तरता दिने भन्दै विभिन्न वैकल्पिक विधिहरू ल्याइए तर कुनै विधि लाई पनि प्रभावकारी रूप लिएर सबै विद्यार्थी को पहुँचमा पुर्याउन सकिएन।घरमै बस्नुपर्दा महामारीले बालबालिकालाई दुई समूहमा विभाजित गरिदिएको छ। एक समूह, घरमा अलि पैसा भएका र हातमा स्मार्टफोन भएका र अार्खो समूह गरीब बालबालिका जसको घरमा खानको लागि मात्रै धौधौ परिरहेको छ र हातमा कुटो कोदाली र हतोडा भएका।जसले गर्दा स्मार्टफोन भएका बालबालिका फोनमै व्यस्त रहने तर अरु बालबालिका खानको लागि बालुवा,ढुङ्गा बोक्ने र अरूको खुट्टा ढोगेर एक गास खान माग्न बाध्य भए।गरीब, असाहाय र टुहुरा बालबालिका को समस्याप्रति कसैको ध्यान गएको छैन र जसको कारण कयौं बालबालिकाहरु महामारीको शिकार बन्न पुगेका छन्।
महामारीले जनजीवन अस्तव्यस्त बनाए पछि बालबालिकाहरुका बाल क्लव र बाल अधिकार सम्बन्धीका कार्यक्रम हरुपनि ठप्प भएका छन्।जसले गर्दा बालबालिका हरुले कुनैपनि कार्यक्रम हरु गर्न पाइरहेका छैनन्। तर यस बीचमा बालबालिकाहरु माथि व्यापार गरेर डलरे खेती गर्ने विभिन्न एनजीओ र आईएनजीओ हरुले भने बालबालिका माथि लगाएको सिन्डिकेट तोडेनन्। उनीहरू यो समयमा झन् सशक्त भएर बालबालिकामाथि व्यापार गरिरहेकाछन्।यो लक डाउन को समयमा कयौं एनजीओ हरुपनि खोलिए र आईएनजीओ हरुले पनि बालअधिकार का स्वार्थी नाराहरू लगाउन छोडेनन्।
बाल अधिकार को सेक्टरमा लागेका एक्टिभ एक्टिभ बालबालिका र बाल क्लव का राम्रा राम्रा बालबालिका प्रयोग गरेर विभिन्न संघ संस्था हरु डलर कमाउने सुरले बालबालिकाहरुलाई बेबकुफ बनाइरहेका छन्।जुन काम कारवाही हरु आफ्नो सरकार ले गरिदिनुपर्ने हो त्यो विदेशी संस्था आएर गरिदिंदा पहिले त कसलाई नराम्रो लाग्ला तर आफ्नो सरकारले बालबालिका हरुलाई पटक्कै नटेरे पछि अब बालबालिकाको सम्पूर्ण ध्यान एनजीओ आईएनजीओ तिर केन्द्रित भएको छ।एनजीओ आईएनजीओ हरु ठूला ठूला गफ सुनाएर अब त बालबालिका को मनमा छाइसकेका छन् र अब बालबालिका को मनमा पनि जे हुन् यिनै हुन भन्ने लागिसकेको छ तर यिनीहरू ले हामीलाई प्रयोग गरेर आफ्नो पेट भरिरहेका छन् भन्ने कुराको सुइँको भने फिटिक्कै पनि पाएका छैनन्।
कुनै बेला रेस्टुरेन्ट,होटल मा बालबालिकालाई भेला गराएर लागेको खर्च को दस् गुणा बढी खर्च असुल्ने संस्थाहरु आजभोलि भने ५०,१०० रूपया को रिचार्ज मा बालबालिकाहरुलाई फकाएर देश लुटिरहेका छन्।काठमाण्डौ मा बसेर बैतडी,बझाङ,अछामका बालबालिका समस्या हेरेजस्तो गर्ने तर जुम मीटिंग सकिएपछि फिटिक्कै ध्यान नदिने यी संस्थाहरूको प्रवृत्तिले एकातिर देशका कर्णधार मानिने बालबालिकाको ध्यान भंग गराइरहेका छन् भने अर्खोतिर देशको बजेट पचाइरहेका छन्।
अहिलेको अवस्थामा हातमा स्मार्टफोन भएका बालबालिका मात्र बालबालिका नभई खानको लागि पहाडमा मा ढुङ्गा ,गिट्टी बोक्ने र शहरतिर सडक बालक जो दुई हात जोडेर एक छाक खाने गर्छन् ती पनि यै देशका बालबालिका हुन भनेर सरकार ले र ती बालबालिका प्रयोग गरेर पैसा कमाउने एनजीओ आईएनजीओ हरुले बुझ्नु जरुरी छ। यदि ती संस्थाहरु यस्ता बालबालिकाहरू को समस्या बुझ्दैनन् भने बाल क्लवमा लागेर आफू जस्तै साथीहरूका पीडा,समस्या उठान गरेर बालअधिकार र बालबालिकाको हितमा लडिरहेका बालक्लव का बालबालिकालाई आफ्ना संस्थाको कुनै समूहको कुनै पद दिएर तिनीहरूको ध्यान भड्काउने काम पनि नगरियोस्।
अब सरकारले यी पैसा मात्र पचाउने तर काम नगर्ने एनजीओ आईएनजीओ हरु खारेज गरेर बालबालिकाको जिम्मा आफूले लिनुपर्छ र म बाल अधिकार सेक्टर मा काम गर्छु, म बालबालिका संग काम गर्छु भन्ने कुनै राम्रो भिजन भएका समूहहरू आउँछन् भने तिनीहरूलाई बाल क्लव संग समन्वय गराउनुपर्छ।आमाबुवा हुँदा हुँदै पनि अनाथालयमा हुर्किरहेका बालबालिका र सरकार हुदा हुदै एनजीओ आईएनजीओ को स्वार्थको खेपिरहेका बालबालिकाका पीडा उस्तै उस्तै छन्। त्यसैले बालबालिका बाट भोट आउँदैन भनेर बालबालिका माथि लगानी नगर्ने र बालबालिकाको वास्तै नगर्ने सरकारले अब भने बालबालिकाको सम्पूर्ण जिम्मवरी आफ्नो काधमा लिएर देशलाई र बालबालिकालाई स्वार्थी संस्थाहरु बाट टाढै राख्नुपर्छ तब मात्र हामी बालबालिकाहरुलाई सरकार भएको अनुभूति हुनेछ।
जय बालबालिका
जय देश
दिवाकर भट्ट
बैतडी