बागमति प्रदेस सभा सदस्य निमा लामा र विराजभक्त श्रेष्ठले काठमाण्डौँको वायु प्रदूषणका लागि सरकार जिम्मेवार रहेको बताएका छन् । विद्युतीय सवारी साधनमाथी कर बढाउने र वातावरणीय स्वच्छताका लागि कुनै कदम नचालेर सरकारले यो स्तिथि निम्त्याएको सांसदद्वयको सार्वजनिक अपीलमा भनिएको छ ।

काठमाण्डौँको वायु प्रदूषणबारे 
सार्वजनिक अपील

काठमाण्डौँ उपत्यका लगायतका ठाँउमा विषम् वायु प्रदूषण भइ जनस्वास्थ्य संकटकालको स्तिथि उत्पन्न भएकोमा हामी बागमती प्रदेश सरकार र संघीय सरकारलाई तत्कालै अल्पकालिन समाधान र दीर्घकालिन उपायको खोजी गर्न अनुरोध गर्दछौँ । प्रदेश सभाका विभिन्न सत्रहरुमा र वातावरण समितिमा समेत पटकपटक हामीले यो स्तिथिको प्रक्षेपण गरी रोकथाम तर्फ कदम चाल्न गरेको आग्रह स्मरण गराउँदछौँ । यो स्तिथिले शहरको व्यवस्थापन र विकाश निमार्णसँगै वातावरणीय पक्षमा हाम्रा कदमहरु असफल भएको पुष्टि भएको छ ।

‘पेट्रोल तथा डिजलबाट चल्ने सवारी साधनले फालेको धुवाँका कारण पनि प्रदूषण बढेको’ भन्ने सरकारको निश्कर्षले यसै वर्षको बजेटमा विद्युतीय सवारी साधनमाथी कर बढाउने उसको प्रतिगामी कदमलाई गिज्याइरहेको हुनुपर्छ । पर्यावरणीय पर्यटन व्यवसाय मुख्य आयस्रोत रहेको हाम्रो जस्तो देशको राजधानी शहर संसारकै प्रदूषित शहरको रुपमा उल्लेख हुनु लज्जास्पद हो । काठमाण्डौँ जस्ता सम्पदा शहरहरुलाई पूर्ण विद्युतीय सवारी साधन, साइकल र पैदलयात्रुमैत्री बनाउदै लैजाने यात्रामा कुनै कदम नचाल्ने बरु माफियाहरुको चंगुलमा फसेर प्रदूषणजन्य पुराना तौरतरिकालाई नै निरन्तरता दिने सरकारको नीति सच्चिन जरुरी छ ।

संघीय राजधानी र तराई लगायत विभिन्न क्षेत्रमा घरबाहिर निस्किँदा आँखा पोल्ने र स्वास फेर्न गाह्रो हुने समस्या भइरहेकोमा स्वास्थ्य मापदण्ड पालना गरी सावधानी अपनाउन आम नागरिकहरुमा विनम्र अपील गर्दछौँ । साथै, प्रदूषण जन्य सवारी साधनहरुको प्रयोग घटाउन एवं चिसोबाट बच्न प्लास्टिक लगायतका फोहर नजलाउन समेत सम्पूर्णमा अपील गर्दछौँ ।

बागमती प्रदेश सभा,
उद्योग,पर्यटन, वन तथा वातावरण समिति सदस्यद्वय
निमा लामा (नेपाली काँग्रेस)
बिराज भक्त श्रेष्ठ (विवेकशील साझा पार्टी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here